adv

छठ पर्वले मधेस, पहाड र हिमाललाई जोडेको छ : उपेन्द्र यादव

१३ कार्तिक, राजविराज ।


जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले मधेस, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्धले जोडेको बताएका छन् ।

सप्तरीको प्रतिनीधि सभा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएका अध्यक्ष यादवले छठ पर्वका अवसरमा आइतबार राजविराज स्थित विभिन्न पोखरीको छठ घाटहरुमा अवलोकन गर्ने क्रममा यस्तो बताएका हुन् ।

मधेसबाट मनाउन थालिएको छठ राष्ट्रि«य पर्वको रूपमा विकास भएकोमा खुशी व्यक्त गर्दै उनले भने –‘छठ पर्वले मधेस, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्धले जोडेको छ, यो सम्पूर्ण नेपाली जनताको लागि खुशीको कुरा हो ।’

छठ घाट घुम्ने क्रममा यादवले समस्त नेपाली जनताको सुख, शान्ति, प्रगति र देशको एकता एवम् समृद्धिको कामना समेत गरेका छन् ।

मधेसबाट शुरु भएको छठ पर्व जस्तै जसपा पनि देशैभरि फैलिएको बताउँदै उनले आगामी निर्वाचनपछि जसपा मधेस, पहाड र हिमालको साझा एवम् राष्ट्रिय पार्टी बन्ने दावी गरे ।

मधेस र मधेसी शब्द स्थापित हुनु, मधेस प्रदेश बन्नु र मधेसी जनताले आफूलाई गर्वका साथ मधेस प्रदेशको वासिन्दा भन्न पाउनु तत्कालीन मधेसी जनअधिकार फोरम हुँदै वर्तमानको जसपाको सफलता भएको अध्यक्ष यादवको भनाइ थियो ।

संघीयतालाई असफल पार्न र उपेक्षित, उत्पीडित समुदायको पहिचान खोस्ने दुस्प्रयास भइरहेको जिकिर गर्दै उनले निर्वाचनमा जसपाका उम्मेद्वारहरुलाई जिताएर संघीयता, पहिचान, स्वाभिमान र समानता पक्षधरहरुले आफ्नो ताकत देखाउनु पर्नेमा समेत जोड दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु