१५ कार्तिक, दमक ।
विश्व बैंकले यो वर्ष नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।
हिजो सोमबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।
सरकारले भने यस वर्ष ८ प्रतिशत वृद्धिको लक्ष्य लिएको छ ।
विश्व बैंकले मूल्य वृद्धि ५.५ प्रतिशत प्रक्षेपण गरेको छ । सरकारको प्रक्षेपण भने ७ प्रतिशतभित्रै हुने छ ।
विश्व बैंकले सबैभन्दा धेरै औद्योगिक क्षेत्रमा ८.९ प्रतिशत, सेवा क्षेत्रमा ५.६ प्रतिशत र कृषि क्षेत्रमा २ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ ।
गत वर्ष यी क्षेत्रमा क्रमशः १०.२ प्रतिशत, ५.९ प्रतिशत र २.३ प्रतिशत वृद्धि भएको थियो ।
गत वर्षदेखि नै जलविद्युत क्षेत्रमा बढेको लगानीको कारण औद्योगिक क्षेत्रमा उच्च वृद्धि देखिएको हो ।
त्यस्तै उपभोक्ताको माग बढेको कारण सेवा क्षेत्रमा वृद्धि देखिएको हो । कर्जाको माग र प्रयोग उच्च भएकाले उपभोक्ताको माग बढेको हो ।
कोभिडपछि यातायात क्षेत्रमा समेत उपभोग बढेको, घरजग्गा कारोबार बढेकोले वृद्धि देखिएको विश्व बैंकले उल्लेख गरेको छ ।