ओलीले आज दार्चुलाबाट चुनावी सभा प्रारम्भ गर्दै
१८ कार्तिक, दमक ।

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेद्वार रहेका झापा क्षेत्र नम्बर ५ मा आक्रमक चुनावी प्रचार थालेको छ ।
बिहीबारबाट निर्वाचन आयोगले चुनावी प्रचार प्रसार कार्यका लागि समय तोकेअनुसार एमाले झापा क्षेत्र नम्बर ५ ले आक्रमक प्रचार अभियान थालेको हो ।
पार्टीका उम्मेद्वारहरुसहित एमालेले चुनावी घरदैलो कार्यक्रम थालेको बताइएको छ । यद्यपि एमाले अध्यक्ष ओली भने चुनाव प्रचारमा आफ्नो निर्वाचन क्षेत्रमा सहभागी हुन नसक्ने देखिएको छ । देशैभर विभिन्न २० वटा चुनावी सभाहरुमा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टी उच्च स्रोतले जानकारी दिएको छ । ओलीले आज शुक्रबार दार्चुलाबाट एमालेको चुनावी सभा प्रारम्भ गर्ने कर्याक्रम रहेको छ ।
एमाले झापा ५ का निर्वाचन परिचालन कमिटी संयोजक एवम् पोलिटब्यूरो सदस्य देबेन्द्र दाहालले बिहीबारबाट पार्टीको प्रचारात्मक अभियान थालनी भएको जानकारी दिएका छन् । झापा क्षेत्र नम्बर ५ अन्तर्गतका २९ वटै वडाबाट एकै समय बिहान ७ः३० बजेबाट चुनावी अभियान प्रारम्भ भएको बताइएको छ ।
एमाले अध्यक्ष ओलीले ४० हजार भन्दा बढी मतान्तरले निर्वाचन जित्ने दावी गर्दै दाहालले भने –‘गत ७४ को निर्वाचनमा उहाँ (अध्यक्ष ओली)ले २८ हजार मतान्तरले विजयी हुनुभएको हो । यस पटक ४० हजार मतान्तरले विजयी हुने हाम्रो अपेक्षा छ ।’
सञ्चारकर्मीहरुले ‘४० हजार मतान्तर हुने आधार के हो ?’ भनेर राखेको जिज्ञासामा दाहालले भने –‘पहिलो कुरा त उहाँको प्रतिस्पर्धीको राजनीतिक हाइट नै मिलेन । दोस्रो कुरा ५ वर्षमा हामीले यस क्षेत्रको विकासका लागि धेरै काम गरेका छौं । तेस्रो कुरा, २५ हजार जति नयाँ मतदाता थपिएका छन्, जसले राष्ट्रियताको पक्षमा दृढ रहेर देशको समेत दुई पटक नेतृत्व गरिसक्नु भएका केपी ओलीलाई नै रुचाएका छन् ।’
कार्तिक २३ गते सम्पन्न उम्मेद्वारी दर्तापछि निरन्तर आम मतदाता र पार्टी कार्यकर्ताका माझ पुगेर मत माग्दा एमालेका उम्मेद्वारहरुप्रति जनताले माया र आशा दर्शाएको दाहालको भनाइ छ ।
एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्की भने ओलीलगायत प्रदेश सभा (१) का उम्मेद्वार हिक्मत कार्की र प्रदेश सभा (२) का उम्मेद्वार होमबहादुर थापाको पक्षमा सकारात्मक माहोल बन्नुमा बिगतमा एमाले सरकारले गरेका विकास निर्माणका कामहरु नै भएको दावी गर्छन् ।
एमालेले पूर्व प्रधानमन्त्रीसमेत रहिसकेका ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।
बुधबार दमकस्थित एमालेको प्रचार प्रसार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेका अन्य नेताहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
एक बुथ २ सय युथ परिचालन गर्दै एमाले
यसैबीच नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ का सबै मतदान केन्द्रमा एक बुथ, २ सय युथ अभियान सञ्चालन गर्ने जनाएको छ ।
आफ्नो मत तथा बुथ संरक्षणका लागि भन्दै एमालेले युवा परिचालन गर्न लागेको हो ।
निर्वाचनलाई शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न युवा परिचालन गरिने दाहालले जानकारी दिएका हुन् ।
झापा ५ का ६१ वटै मतदान केन्द्रमा २ सय जना पार्टीका युवा परिचालन गरिने बुधबार जारी विज्ञप्तिमा समेत उल्लेख छ ।


