समाचार प्रभाव
१८ कार्तिक, माङसेबुङ ।

माङसेबुङ ५ मा कृषकहरुले लगाएको दाल बालीमा देखिएको समस्यबारे माङसेबुङ गाउँपालिकाले अनुगमन गरेको छ ।
गत कार्तिक ११ गते माङसेबुङमा पहेँले रोगले फुल्दै गरेको दाल मर्न थालेपछि हरप्रहर न्यूज डटकममा समाचार आएको थियो । समाचार प्रकाशन भएपछि गाउँपालिकाले दाल बाली लगाइएको कृषि क्षेत्रको गत मंगलबार अनुगमन गरेको हो ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र राई, पालिकाका प्रवक्ता सुसन राई, कृषि शाखा इन्चार्ज निरूपा राईलगायतले गरेको स्थलगत अनुगमनपछि दाल बालीमा भएको क्षतिको विवरण समेत संकलन गरिएको प्रवक्ता राईले जानकारी दिए ।
पालिका अध्यक्ष राईले पीडित कृषकहरूलाई भने –‘दालमा देखिएको समस्याले हामी चिन्तित छौं । यस बारेमा कृषिक प्राविधिकहरुसँग परामर्श गरेर समस्या पहिचानका लागि कृषि ज्ञान केन्द्रमा पठाउँछौं । बाली नष्ट भएको विषयमा गाउँपालिकामा छलफल गर्नेछौं ।’
कृषि शाखा इन्चार्ज राईका अनुसार लामो समयसम्म एकनासे बाली लगाउँदा यस्ता समस्य आउन सक्छन् । उनले भनिन् –‘यो कोसे बालीमा लाग्ने एक किसिमको भाइरस हो ।’
स्थानीय सरकारको तर्फबाट अनुगमन गरिदिँदा पीडित कृषकहरुले बाली मरेको पीडा भए पनि केही राहत महसुस भएको बताएका छन् ।

