adv

आदिवासी जनजातिका माग पूरा गर्न प्रतिबद्ध छौं ः दलहरु

१८ कार्तिक, दमक ।आदिवासी जनजाति समुदायका मुद्दाप्रति सचेत र उनीहरुका माग पूरा गर्न राजनीतिक दलहरु प्रतिबद्ध रहेको बिहीबार आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

झापा क्षेत्र नम्बर १ का विभिन्न दलका उम्मेद्वारहरुसँग नेपाल आदिवासी जनजाति महासंघ झापाले अन्तरक्रिया आयोजना गरेर आधिकारिक धारणा एवम् प्रतिबद्धता मागेको थियो । मेचीनगरको काँकरभिट्टास्थित टाउनहलमा सम्पन्न अन्तरक्रियामा दलका उम्मेद्वारहरुले आदिवासी जनजाति समुदायका समस्या समाधान गर्न र उनीहरुका माग पूरा गर्ने भन्दै दलका तर्फबाट प्रतिबद्धता व्यक्त गरेका हुन् ।

महासंघ झापाले ५ वटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलबाट उम्मेद्वार बनेकाहरुसँग आदिवासी जनजाति समुदायका हक अधिकार स्थापित गर्ने सम्बन्धमा आधिकारिक धारणा र प्रतिबद्धता माग्ने कार्यक्रम प्रारम्भ गरेको छ । यस्तै अन्तरक्रिया १९ गते झापा क्षेत्र नम्बर २ को लागि बिर्तामोडस्थित अतिथि सदनमा, २० गते झापा क्षेत्र नम्बर ३ को लागि भद्रपुरको एवड होटलमा हुने छन् ।
त्यस्तै झापा क्षेत्र नम्बर ५ को लागि कमल गाउँपालिका होटल रोड स्टारमा २२ गते अन्तरक्रिया तय गरिएको छ भने झापा क्षेत्र नम्बर ४ को लागि २३ गते बाणिज्य हल सुरुङ्गामा कार्यक्रम तय गरिएको छ ।

हिजोको अन्तरक्रियामा बोल्दै नेपाली कांग्रेसका महामन्त्री एवम् गठबन्धनका प्रतिनिधि सभा उम्मेद्वार विश्वप्रकाश शर्माले कांग्रेस आदिवासी जनाजाति समुदायको माग र आवश्यकताका सम्बन्धमा जानकार रहेको बताएका थिए ।

शर्माले भने –‘अहिले चुनावको समय छ, यो बेला जसले जे पनि भन्छ । के ख्याल गर्नुस् भने बिगतमा मैले के बोलेँ, के गरेँ । मैले त ४ वर्ष अघि पनि प्रदेश नम्बर १ को नाम विराट किरात हुँदा कांग्रेसलाई आपत्ति हुनेछैन भनेर पार्टीको प्रवक्ताका रूपमा बोलेको हुँ । त्यसैले आदिवासी जनजाति समुदायलाई अधिकार सम्पन्न बनाउने कुरामा म प्रतिबद्ध छु ।’

नेकपा एमालेका केन्द्रीय नेता एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेद्वार अग्नि खरेलले संविधानमै आदिवासी जनजातिका हक अधिकार स्थापित गराउन आफू र आफ्नो पार्टीले भूमिका खेलेको दावी गरे ।

आदिवासी जनजाति समुदायका लागि आइएलओ १६९ महासन्धी एमालेले नै टेबलु गराएर संकल्प प्रस्तावको रूपमा पारित गराएको स्मरण गराउँदै खरेलले भने –‘ऐन, कानुन निर्माण गर्ने र आदिवासी जनजाति समुदायको स्वायत्त क्षेत्र, विशेष क्षेत्र, संरक्षित क्षेत्रको सुनिश्चितता गराउने कुरामा एमाले र म प्रतिबद्ध छु ।’
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रत्यासी रहेकी राधा थापाले आदिवासी जनजाति समुदायको निम्ति जसपाले मात्रै सही अर्थमा न्याय गर्न सक्ने दावी गरिन् ।
आफू एक मात्र महिला उम्मेद्वार भएको दावी गर्दै थापाले भनिन् –‘परिवर्तनका लागि जसपालाई तपाईहरुले छाता चिन्हमा मतदान गरिदिनुहोला ।’

प्रदेश सभाका उम्मेद्वारहरु झन प्रतिबद्ध
यसैबीच सोही अन्तरक्रियामा सहभागी झापा क्षेत्र नम्बर १ अन्तरगत प्रदेश (१) र (२) का उम्मेद्वारहरुले अािदवासी जनजाति समुदायका माग, मुद्दा र समस्या बारे आफूहरु जानकार रहेको र निर्वाचनमा जनताले जिताए तिनलाई समाधान गर्न लागि पर्ने जिकिर गरेका छन् ।

एमालेका तर्फबाट प्रदेश सभा (१) मा उम्मेद्वार रहेका रबिन कोइरालाले संविधानको धारा ५६ ले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको ग्यारेन्टी गरेको भन्दै आदिवासी जनाजति समुदायलाई यो अधिकार उपलब्ध गराइने बताए हुन् ।

गठबन्धनतर्फबाट प्रदेश सभा (२) उम्मेद्वार रहेका नेकपा (माओवादी केन्द्र) का श्यामबीर लिम्बूले जनयुद्ध हुँदै निरन्तर उत्पीडित र आदिवासी जनजाति समुदायका लागि लड्दै आएको जिकिर गरे । उनले भने –‘आदिवासी जनजाति समुदायका जुनसुकै माग र मुद्दा स्थापित गर्न सदन र सडकबाट बहस गर्न तयार छु ।’

जसपाबाट प्रदेश सभा (२) मा उम्मेद्वार रहेका ओमप्रकाश खापुङले आफू आदिवासी लिम्बू समुदायबाट रहेकाले कुनै पनि हालतमा आदिवासी जनजाति समुदायको मुद्दालाई धोका दिन नसक्ने जिकिर गरे ।

गठबन्धनतर्फबाट प्रदेश सभा (१) मा उम्मेद्वार रहेका नेपाली कांग्रेसका गोपाल तामाङले आफूले निर्वाचनमा जितरे गए पनि वा हारे पनि आदिवासी जनजाति समुदायका अधिकार स्थापित गराउन निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

महासंघका झापा जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा उपाध्यक्ष केवलराम राईले कार्यक्रम संयोजकको हैसियतले कार्यक्रमको औचित्य र झापा क्षेत्र नम्बर १ का आदिवासी जनजाति समुदायले भोगिरहेका विभिन्न समस्या बारे प्रकाश पारेका थिए ।

समाधिस्थल भत्काइएको विषयदेखि समाधिस्थलमा रोक लगाइएका विषय, शिक्षा, रोजगारी, संस्कृति संरक्षण, मातृभाषाको प्रवद्र्धनलगायत विषयदेखि प्रदेश १ को नामाकरण र स्वायत्त एवम् संरक्षित र विशेष क्षेत्रको माग लगायत विषय उठेका थिए ।
सो कार्यक्रमकै बीच किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, नेपाल शेर्पा संघ, नेपाल सदरी अधिकार मञ्च, मेचे समाज शिवियारी आफात, राजवंशी समाज विकास समिति, नेवाः देय दवुलगायत जातीय संस्थाहरुले दलका उम्मेद्वारहरुलाई अलग अलग चरणमा ज्ञापनपत्र समेत बुझाएका थिए ।

फोनिज झापाको सहकार्य रहेको सो कार्यक्रममा फोनिज संघीय उपाध्यक्ष कमन देवानले सहजीकरण गरेका थिए भने फोनिजका पूर्व प्रदेश १ इन्चार्ज दिपिन राई, जिल्ला अध्यक्ष भूमिका फियाकलगायतको सहभागिता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु