१८ कार्तिक, दमक ।

देश बदल्न शिक्षा बदल्नु पर्ने र शिक्षा बदल्न शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने झापा क्षेत्र नम्बर ५ प्रदेश सभा (२) का गठबन्धन उम्मेद्वार गगन पुरीले बताएका छन् ।
शुक्रबार गठबन्धन दलले झापाको दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रदेश कोषाध्यक्ष समेत रहेका पुरीले यस्तो बताएका हुन् ।
‘शिक्षा नीति बदल्न त्यहि प्रकारको नेतृत्व पनि बदल्नु पर्छ भनेर हामीले यो अभियान चलाएका हौं’, पुरीले थपे –‘शिक्षा र स्वास्थ्यमा पूर्ण रूपले छुटको अभियान हामी चलाउँछौं ।’
आफू निर्वाचित भएर गएमा राष्ट्रियस्तरको मान्यता पाएका राजनीतिक दलका केन्द्रीय तहका नेता र उनका परिवारका मानिसले शिक्षा र स्वास्थ्यमा लागनी गर्न नपाउने नीति बनाउने दावी गरे ।
‘केन्द्रीय समितिमा भएका मान्छेहरुले या उसका श्रीमती वा उसका एकाघरका छोराछोरीले शिक्षा र स्वाथ्यमा लगानी गर्न पाइँदैन । यो कुरामा म संसद्मा गएर नीति बनाउन लाग्छु’, उनले भने –‘गठबन्धनभित्र छलफल गर्न पाएको छैन, यो मेरो निजी धारणा हो ।’
पार्टीको केन्द्रीय तहमा बसेर नीति निर्माण गर्ने मानिसहरुले शिक्षा र स्वास्थ्यमा व्यापार गर्न थाले राज्यले फड्गो मार्न नसक्ने ठोकुवा गर्दै पुरीले यस क्षेत्रका हजारौं युवालाई रोजगार दिने र सिङ्गो प्रदेशको आयस्रोत वृद्धि गर्ने र उत्पादन वृद्धि गर्ने योजना आफूहरुसँग रहेको दावी गरेका छन् ।
‘विकास भनेको रड र सिमेन्टका ठूल्ठूला भवन र कालोपत्रे मात्रै होइन । विकास भनेको उत्पादन, रोजगार र आयस्रोत तीनै कुराको उपलब्धता हो’, पुरीले भने ।
दमकको हकमा स्थानीय खोलाखोल्सीहरुको सौन्दर्यकरण र त्यसबाट पर्यटक आगमनको सम्भावना वृद्धि गर्नु नै वास्तविक अर्थमा विकास हुने गठबन्धनको निष्कर्ष रहेको भन्दै उनले नदी सौन्दर्यकरणको हकमा डिपिआर र बहुवर्षीय योजनाको काम अघि बढेको दावी गरे ।
पुरीले भने –‘यसमा हामी केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको त्रीपक्षीय साझेदारीमा काम गर्छौं । त्यस्तै पीपीपी मोडेलमा लैजान्छौं । यस कामका लागि दमक नगरपालिकाले ओनरसिप लिइसकेको छ ।’
खोला किनारका सुकुमबासी वस्तीलाई नदी सौन्दर्यकरणका नाउँमा उठाउन लागेको भनेर आफ्ना प्रतिद्वन्द्वीले भाषण गरेको आरोप लगाउँदै उनले ‘हरुवा गोरुको छेरुवा दाऊ’ भन्दै पत्रकारमाझ भने–‘व्यूटीफिकेसनले सुकुमबासी वस्तीलाई डुबान र बाढीको जोखिमबाट बचाउँछ । गठबन्धनको तर्फबाट हामीले धनीपुर्जा दिने काम त थालिसकेका छौं ।’
आदिवासी रंगशाला बनाएरै छाड्ने भन्दै पुरीले ‘बरु त्यसका लागि आफ्नो गर्धन छिने पनि सेक्रिफाइस गर्न तयार’ रहेको जिकिर गरे ।
गठबन्धनकै पहलमा प्रदेश सरकारमार्फत १ करोड बजेट आदिवासी रंगशालाका लागि विनियोजना गराइएको उनको भनाइ थियो ।


