
कार्तिक,२० विर्तामोड ।आदिवासी जनजाति समुदायका मुद्दाप्रति सचेत र उनीहरुका माग पूरा गर्न राजनीतिक दलहरु प्रतिबद्ध रहेको शनिबार आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन् । झापा क्षेत्र नम्बर २ का विभिन्न दलका उम्मेद्वारहरुसँग नेपाल आदिवासी जनजाति महासंघ झापाले अन्तरक्रिया आयोजना गरेर आधिकारिक धारणा एवम् प्रतिबद्धता मागेको थियो । विर्तामोडको अतिथि सदनमा सम्पन्न अन्तरक्रियामा दलका उम्मेद्वारहरुले आदिवासी जनजाति समुदायका समस्या समाधान गर्न र उनीहरुका माग पूरा गर्ने भन्दै दलका तर्फबाट प्रतिबद्धता व्यक्त गरेका हुन् ।

हिजोको अन्तरक्रियामा बोल्दै प्रतिनिधिसभा सदस्य पदमा लोकतान्त्रिक बाम–गठबन्धनबाट झापा क्षेत्र नं. २ को साझा उम्मेद्वार बनेका हरिकुमार रानाले आदिवासी तथा जनजातीले उठाउँदै आएका मुद्दाहरु लागू गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
उनले बिजयी बनेर सदन पुग्दा दृढका साथ आदिवासी र जनजातीले उठाउँदै आएका पहिचानका मुद्दा लागू गर्न लागि पर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् । रानाले पहिचानका मुद्दादेखि लिएर आदिवासी जनजातीका सांस्कृतिक, धार्मिक जस्ता मुद्दाहरु पनि सम्बोधन गर्ने प्रतिबद्धता गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट प्रतिनिधि सभा उम्मेद्वार रहेका राम सुफल कामतीले आफू निर्वाचित भएर गए नामाकरण हुन बाँकी प्रदेश नम्बर १ को नामाकरण किरात प्रदेश राख्न पहल गर्ने बताए ।
उनले जसपा पहिचानसहितको संघीयतालाई स्थापित गर्ने राजनीतिक आन्दोलनमा रहेको जिकिर गर्दै आफू निर्वाजित भएर गएमा सम्पन्न वर्गलाई होइन, विपन्न र उत्पीडितका लागि वृद्ध भत्ता उपलब्ध गराउन पहल गर्ने बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रतिनिधि सभातर्फका उम्मेद्वार त्रिनारायण राजवंशीले उत्पीडित आदिवासी जनजाति दलित, उत्पीडित समुदायको हक अधिकारका लागि आफू ४७ सालदेखि निरन्तर लड्दै आएको जिकिर गरे ।
उनले भने –‘मलाई जिताएर पठाउनुस्, काठमाडौं जाने खर्च बाहेक मैले प्राप्त गर्ने सबै सेवा सुविधाको रकम आदिवासी जनजाति समुदायलाई बुझाउने छु ।’
झापा क्षेत्र नम्बर २ प्रदेश सभा (१) का एमाले उम्मेद्वार एकराज कार्कीले आदिवासी जनजातिमाथिका विभेद् नेपालको संविधानले अन्त्य गरेको दावी गरेका छन् ।

आदिवासी जनजाति समुदायका लागि संविधान धाराहरुमा यथेष्ट अधिकार सुनिश्चित भएको उनले दावी गरेका हुन् । ‘संविधान नबाँझिने गरेर संघ, प्रदेश र स्थानीय सरकारहरुले कानुन बनाएर आदिवासी जनजाति समुदायका अधिकार सुनिश्चित गर्नुपर्छ’, कार्कीले भने ।आदिवासी जनजाति समुदायका माग र मुद्दा स्थापित गर्न आफू लागि पर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
एमालेका तर्फबाट प्रदेश सभा (२) का उम्मेद्वार चिन्तन पाठकले माटो खाएर र माटो चबाएर आदिवासी जनजातिका हितमा लाग्ने कसम खान तयार रहेको बताए ।
आदिवासी जनजाति अधिकारका निम्ति एमालेले गरेका कामको फेहरिस्थ सुनाउँदै पाठकले आफू संविधान, ऐन, कानुन अनुसार आदिवासी जनजाति समुदायको शैक्षिक, भाषिक, आर्थिक, सांस्कृतिक अधिकार स्थापित गराउन सँगसँगै हातेमालो गरेर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार देबराज घिमिरे भने उपस्थित नभएको कार्यक्रमका संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट झापा २ को प्रदेश सभा (२) का उम्मेद्वार खगेन्द्र मैनालीले देश निर्माणमा आदिवासी जनजाति समुदायले अहम भूमिका खेलेको चर्चा गर्दै मुलुकको परिवर्तनसँगै आर्थिक र सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गरे ।
पहिचानको मागका सम्बन्धमा आदिवासी जनाजति समुदायले उठाएका प्रश्न बारे अब राजनीतिक दलका नेताहरुले गम्भीर भएर सोच्ने समय आएको जिकिर गरे । उनले भने –‘यो मुलुकलाई ३८ प्रतिशत कर बुझाउने आदिवासी जनजाति समुदायले १५ प्रतिशत बजेट पनि आफ्नो विकासका लागि पाउन सक्दैन भने विभेद् त्यहीँबाट सुरु भएको छ ।’
आदिवासी जनजातिका भाषिक संरक्षणका लागि शैक्षिक कार्यक्रममा समावेश गर्नुपर्ने, संस्कृति संरक्षणका लागि संग्रहालयहरु निर्माण गर्नुपर्ने भन्दै मैनालीले नेपालबाट आदिवासी जनजाति समुदायका भाषा र संस्कृति, पर्वहरुलाई निकाल्ने हो भने यो देश खोक्रो हुने दावी गरे । आदिवासी जनजाति समुदायको मुद्दामा आफू डटेर लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
लोसपाका तर्फबाट प्रदेश सभा (२) का उम्मेद्वार शिव आचार्यले आफू आदिवासी मात्रै भन्न रुचाउने भन्दै ‘राणाकाल, पञ्चायत कालमा भएको किरात प्रदेश गणतन्त्रमा कहाँ हरायो ?’ भनी प्रश्न गरे ।
उत्तरको चीन र दक्षिणको भारत विकसित हुँदा हामी के कारण पछि पर्यौ ? नेपालमा जनतालाई अधिकार दिने कुरामा किन कञ्जुस्याँई गरियो भन्ने कुरालाई मनन गर्न जरुरी रहेको आचार्यले सुझाए ।

महासंघ झापाको आयोजना र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सहकार्यमा सोही कार्यक्रममा किरात राई यायोक्खा, मेचे समाज शिवियारी आफात, नेवाः देय दवुलगायत जातीय संस्थाहरुले झापा क्षेत्र नं. २ का प्रतिनिधी सभा तथा प्रदेश सभाका उम्मेदवारहरुलाई अलग अलग चरणमा ज्ञापनपत्र समेत बुझाएको झापा क्षेत्र नं. २ का कार्यक्रम सह संयोजक तीलरुपा श्रेष्ठले बताइन् । आदिवासी जनजाति प्रत्रकार महासंघ (फोनिज ) पूर्व प्रदेश नं.१ इन्चार्ज दिपिन राईले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) झापाका सचिव लक्ष्मणज्वयल श्रेष्ठले गरेका थिए ।

