adv

आदिवासी रंगशाला बनाउन प्रतिबद्ध छौं : दलका उम्मेद्वारहरु

‘दमक सभागृहको नाम फेरेर फाल्गुनन्द सभागृहको बनाउँछौं’

२२ कार्तिक, दमक ।


झापा क्षेत्र नम्बर ५ बाट आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा उम्मेद्वार रहेका विभिन्न राजनीतिक दलका उम्मेद्वारहरुले आदिवासी जनजाति समुदायका हक अधिकार स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलबार झापाको कमल ५ स्थित पाडाजुँगीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै दलका उम्मेद्वारहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

झापा क्षेत्र नम्बर ५ प्रतिनिधि सभाका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारीले कुनै पनि मुलुक पैसा भएका कारणले मात्रै धनी हुने होइन भन्दै मुलुक प्राकृतिक सम्पदा र सांस्कृति सम्पदाका कारण धनी हुने बताए ।

जनजातिहरुको थर र संस्कारको विविधता, प्रकृति, रहनसहन र ठाउँअनुसार फरक हुने गरेको स्मरण गराउँदै उनले भने –‘पछिसम्मको पुस्ताका निम्ति यी विविधताहरुको संरक्षण गरिनु पर्दछ । यो ठूलो सम्पत्ति हुनेछ ।’

आदिवासी जनजातिहरुको जीवनस्तर उठाएर, विकास गरेर संस्कृति संरक्षण गर्न सकिने जिकिर गर्दै अधिकारीले आदिवासी जनजातिहरुको अधिकारको कुरा गर्दा अन्य जातिको अहित सोच्नु नहुने बताए ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) की प्रतिनिधि सभा उम्मेद्वार ओममाया आङ्देम्बेले आदिवासी रंगशाला र फाल्गुनन्द सभागृहका सवालमा हिजो सत्तामा रहेका दलहरुले गरेको बेइमानीलाई जसपाले सच्याउने दावी गरिन् ।

पहिचान र संघीयतासहित आदिवासी जनजातिका मुद्दामा जसपा बाहेक अन्य दलहरु इमान्दार नरहेको उनले आरोप लगाइन् । ‘चुनाव चिन्ह छातामा मतदान गरेर जसपाका उम्मेद्वारहरुलाई जिताए मात्रै पहिचानमा आधारित प्रदेशको नामाकरण प्राप्त हुने’ आङ्देम्बेको भनाइ थियो ।

राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि सभा उम्मेद्वार पदम जबेगूले भाषणमा आदिवासी जनजातिका माग र मुद्दाप्रति इमान्दार हुने तर व्यवहारमा त्यसको ठीक विपरित कार्य गरेको आरोप लगाए ।

आदिवासी जनजाति समुदायले कस्तुरीले आफ्नै सुगन्ध थाहा नपाएर भौतिारिएको जस्तै अलमलमा परेको जिकिर गरे । जबेगुले भने –‘आफै सत्तामा पुगे मात्रै हामी दिने अवस्थामा हुन्छौं । आफै सत्तामा नपुगेसम्म अरुसँग मागरे बस्नुपर्दा सबै अधिकार प्राप्त हुँदैन ।’

मुद्दाप्रति सचेत छौं : प्रदेश सभाका उम्मेद्वारहरु

नेकपा एमालेका झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा (१)का उम्मेद्वार हिक्मत कार्कीले आदिवासी जनजाति अधिकारका सम्बन्धमा कानुनी रूपले बल गर्ने र काम गर्ने पार्टी नेकपा एमाले नै भएको दावी गरे ।

उनले प्रदेश सभाको पहिलो अधिवेशनबाटै साझा पहिचानका आधारमा प्रदेशको नामाकरण गरिने प्रतिबद्धता व्यक्त गर्दै भने –‘आदिवासीहरुको चिहान खनेर एक ठाउँमा स्मारक बनाउने, त्यहाँ आदिवासी रंगशाला बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

एमालेका उम्मेद्वारहरुका तर्फबाट धारणा राख्दै पूर्व प्रदेश मन्त्री समेत रहेका कार्कीले आदिवासी जनजाति समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने जिम्मेवारी एमालेले लिँदैआएको जिकिर गरे ।

प्रदेश सरकारले प्रदेशस्तरमा सार्वजनिक विदाको सूची तयार गर्ने क्रममा आफू मन्त्री भएपछि अन्तर्राष्ट्रिय आदिवासी दिवसमा सार्वजनिक विदा घोषणा गरेको स्मरण गराउँदै कार्कीले आदिवासी जनजाति समुदायको धर्म, संस्कृति, पूजा, पर्वहरु मनाउन सीप र कलाको प्रवद्र्धन गराउन आफूले चुनावी प्रतिबद्धतामा समावेश गरेको बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा (२)का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार रेवतराज पुरी (गगन)ले आदिवासी जनजाति समुदायका माग र मुद्दा नै आफूहरुको चुनावी मुद्दा रहेको जिकिर गरे ।

उनले यस क्षेत्रको मुख्य मुद्दाको रूपमा रहेको आदिवासी रंगशाला निर्माणको सवालमा गठबन्धन दलहरु मात्रै इमान्दार रहेको दावी गरे । ५ वर्षभित्र रंगशाला बन्ने भन्दै पुरीले भने –‘चिन्ता नगर्नुस्, अब रंगशाला गठबन्धनले बनाउँछ । आदिवासी रंगशाला नै बनाउँछ ।’

पहिचानवादीहरुको जित सुनिश्चित रहेको भन्दै उनले प्रदेश नम्बर १ को नामाकरण पहिचानको आधारमा हुने ठोकुवा गरे । ‘पाल्र्यामेन्टमा म पहिचानको लागि लड्छु । सकिँन भने तपाईहरुसँगै सडकमा आउनेछु’, पुरीले भने ।

झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा (१)का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार जीवनकुमार राईले मदन भण्डारी रंगशाला बनाउन एमालेका सांसद मन्त्रीहरुले गरेको प्रयासका बारे यस क्षेत्रका आदिवासी जनजाति समुदाय जानकार रहेको टिप्पणी गर्दै एमालेबाट आदिवासी जनजाति समुदायलाई पटक पटक विभेद् गरिएको आरोप लगाए ।

आफ्ना प्रत्यासी पूर्व मन्त्री कार्कीले बहुमतको सरकारमा रहेर पनि ‘प्रदेशको नाम किन राख्न सक्नु भएन ?’, राईले प्रश्न गरे ।
ठूला सपना नबाँढ्ने भन्दै उनले जनजाति महासंघले राखेको १० बुँदे माग आफैले लेखे जस्तै महसुस भएको जिकिर गरे । राईले भने –‘हामीले हाम्रो परिवार धान्न चामल मागेका होइनौं । राज्यसँग अधिकार मागेका हौं ।’

पहिचान स्थापित होस् भनेर माग राख्नु अन्याय नभएको तर्क गर्दै उनले पहिचान जोगाउन दलीय आस्था र विचारले फरक नपार्ने दावी गरे । आफ्नो जित सुनिश्चित भइसकेको भन्दै राईले पहिचानको भावना समेटिने गरी प्रदेशको नामाकरण गरिने बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका झापा ५ प्रदेश सभा (२) उम्मेद्वार सूर्य योक्पाङ्देनले पार्टीलाई मात्रै सबै थोक मान्ने प्रवृत्तिले आदिवासी जनजाति समुदायको पहिचान र अधिकार गुम्दै गएको टिप्पणी गरे ।

उनले भने –‘हामीले माटी र जाति भन्दा पार्टीलाई बढी महत्त्व दिएकाले पछि परेका हौं ।’

साच्चै हक अधिकार चाहिएको हो भने धैर्य गरेर लड्न जरुरी रहेको योक्पाङ्देनले जिकिर गरे ।

झापामा मात्रै करिब ६ लाखको संख्यामा रहेका आदिवासी जनजाति समुदायका हक अधिकार स्थापित गर्ने कुरामा निर्वाचन जितेर जाने उम्मेद्वार र राजनीतिक दलहरुले बेइमानी गर्दै आएको टिप्पणी गर्दै नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले यो कार्यक्रममार्फत आफूहरुले बेलैमा दलहरुलाई सजग गराएको दावी गरे ।

कार्यक्रको औचित्य बारे प्रष्ट पार्दै महासंघ झापाका उपाध्यक्ष केवलराम राईले आदिवासी जनजाति समुदायका पहिचान र अधिकार स्थापित गर्न सदैव खबरदारी गर्ने भन्दै अब पनि दलहरुले उनीहरुको इमान्दारितामाथि खेलवाड गरे त्यसको परिणाम ठीक नहुने चेतावनी दिए ।

वदी साम्पाङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा उनले आदिवासी जनजाति समुदायका विभिन्न १० बुँदे मागपत्र वाचन गरेर सुनाएका थिए भने यायोक्खा झापा लगायत जातीय संस्थाहरुले ज्ञापनपत्र बुझाएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु