२३ कार्तिक, दमक ।
बैंक तथा वित्तीय संस्थाहरुले बढाएको चर्को व्याजदर घटाउन माग गर्दै दमकका उद्योगी व्यवसायीहरु आन्दोलित बनेका छन् ।
बुधबार दमक चोकको आकासे पुल मुनी ब्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाले गरेको व्यजदर वृद्धिको निर्णय फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन् ।
चर्को ब्याजदरका कारण उद्योग ब्यबसाय धरासयी बनेको भन्दै दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्योगी व्यवसायीहरु सडक उत्रनुको विकल्प नरहेको बताए ।
आगामी २७ गते प्रदेश उद्योग वाणिज्य महासंघको अगुवाईमा मुख्यमन्त्री कार्यालय र राष्ट्रबैंकहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिँदै श्रेष्ठले आर्थिक मन्दीका कारण सबै क्षेत्र संकटमा रहेको बेला बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धि गर्नु गलत भएको समेत टिप्पणी गरे ।
उद्योग वाणिज्य महासंघ प्रदेश १ को अगुवाईमा सुरु भएको आन्दोलनलाई समर्थन गर्दै सडकमा प्रदशन गरिएको संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंले बताए ।
संघका प्रथम उपाध्यक्ष राजु खड्काले आन्दोलन स्वरुप बुधबार दमकका बैकहरुमा सेवा बहिस्कार गरिएको जानकारी दिए ।
हिजो मंगलबार व्यवसायीहरुले ईलाका प्रशासन कार्यालय र दमकस्थित बैंकहरुमा ज्ञापनपत्र बुझाएका थिए ।