adv

राप्रपा–एमाले चुनावी तालमेल रणनीतिक : राप्रपा नेता पौडेल

२७ कार्तिक, दमक ।


एमालेसँग चुनाव जित्नका लागि मात्रै रणनीतिक तालमेल गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य गोपाल पौडेलले दावी गरेका छन् ।

राप्रपाको सिट संख्या बढाएर राष्ट्रिय पार्टीका रूपमा संसद्मा पुर्याउने रणनीति अनुसार चुनावी तालमेल गरिएको पौडेलले दावी गरेका हुन् ।

राप्रपानिकट पत्रकारहरुको संगठन मिडिया नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका पौडेलले हालसालै हरप्रहर न्युजसँग गरेको संक्षिप्त कुराकानीमा उनले भने –‘हामीले झापामा हाम्रा अध्यक्ष (राजेन्द्र लिङ्देन) को जित सुनिश्चित गर्न एमाले अध्यक्ष (केपी शर्मा ओली) र अन्य एमाले उम्मेद्वारहरुलाई सूर्यमा भोट हाल्ने हो । एमालेका मतदाताले पनि त्यसैगरी हलोमा भोट हाल्नु हुन्छ ।’

झापा क्षेत्र नम्बर ५ को चुनावी अभियानमा एमालेका उम्मेद्वारहरुलाई भोट माग्न खटिरहेका उनी भन्छन् –‘हामीले यहाँ सूर्यमा हालेको भोट हाम्रा उम्मेद्वारका लागि त्यहि भोट हलोमा जान्छ ।’

बैशख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा राप्रपाबाट गौरादह नगरपालिकाको प्रमुख पदका उम्मेद्वारसमेत रहेका थिए पौडेल । उनले १५ सय ९० मत पाएका थिए । ‘त्यो बेला हलोमा भोट मागियो, अहिले सूर्यमा भोट माग्दैछौं । राजनीतिमा बेलाबेला यस्ता परिस्थिति आउँछन्’, उनले भने –‘पार्टीले गरेको निर्णय कार्यकर्ताले मान्नु पर्छ, हामी पार्टीले गरेको निर्णयप्रति प्रतिबद्ध छौं । सहज वा असहज लाग्नु बेग्लै कुरा हो ।’

राजनीतिक मुद्दाका हिसाबले परसपर विरोधी शक्तिका बीचमा भएको चुनावी तालमेल दीर्घकालीन रहला त भन्ने प्रशनमा पौडेलले भने –‘अहिले निर्वाचनमा एकले अर्कोलाई जितका निम्ति सहयोग गरागर हुन्छ । तर मुद्दाका हिसाबले त हामी संघीयता, धर्म निरपेक्षता खारेजीकै निम्ति सदनमा लड्ने हो ।’

प्रतिनिधि सभातर्फ झापाका ५ निर्वाचन क्षेत्रमध्ये राप्रपाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई क्षेत्र नम्बर ३ बाट उम्मेद्वार बनाएको छ । जहाँ एमालेले लिङ्देनलाई मतदान गर्ने सहमति छ । त्यस्तै झापाका अन्य ४ निर्वाचन क्षेत्रहरुमा राप्रपाले एमालेका उम्मेद्वारहरुलाई मतदान गर्ने छन् ।

एमालेले राप्रपालाई झापा निर्वाचन क्षेत्र १ को प्रदेश सभा (२) मा र निर्वाचन क्षेत्र ४ को प्रदेश सभा (२) मा सहयोग गर्ने सहमति भएको छ । राप्रपाबाट प्रदेशसभामा झापा–१ (२) मा सबिना बजगाईं उम्मेद्वार छिन् भने झापा–४ (२) मा भक्तिप्रसाद सिटौला उम्मेद्वार छन् ।

प्रदेश सभा सदस्यका लागि बाँकी रहेका ८ वटा निर्वाचन क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गर्ने सहमति छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु