adv

नेपाल सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपको सह–आयोजक

२७ कार्तिक, दमक ।


सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपको सह–आयोजक नेपाल हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रूपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियालाई सन् २०२४ देखि २०२७ सम्मका आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको बताइएको छ ।

सोही निर्णयका आधारमा सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता मलेसिया र थाइल्याण्डले आयोजना गर्ने पाउने छन् ।

सन् २०२४ को यू–१९ क्रिकेट विश्वकप श्रीलंकामा र २०२६ को प्रतियोगिता जिम्बावे र नामिबियाले आयोजना गर्ने आईसीसीले जनाएको छ ।

आइसीसी बोर्डले नेपाललाई विश्वकपको आयोजना गर्ने अवसर दिनु गर्वको विषय भएको नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशानत विक्रम मल्लको भनाइ छ ।

उनले भने –‘आईसीसीले हामीलाई सह–आयोजक भनेर तोकेको छ । यो अहिलेसम्मकै ठूलो उपलब्धी हो ।’

विश्वकपका लागि नेपालको पाँच भेन्यूको नाम आईसीसीलाई पठाएको जानकारी दिँदै मल्लले भने –‘आईसीसी प्रतिनिधि आएर हाम्रो २ भेन्युलाई विश्वकप आयोजनाका लागि मान्यता दिनेछ । नेपालको दुई र बंगलादेशको दुई भेन्यूमा यू–१९ महिला विश्वकप हुनेछ ।’

यू–१९ महिला विश्वकप आयोजना गर्ने अवरस पाएको नेपालको महिला टोलीले अहिलेसम्म विश्वकपमा भने भाग लिन पाएको छैन ।

दक्षिण अफ्रिकामा आयोजना हुँदैगरेको सन् २०२३ को पहिलो संस्करणको यू–१९ महिला विश्वकप प्रतियोगिताको लागि नेपाललले एसियाली क्षेत्रको छनोट खेलेको थियो । तेस्रो स्थानमा सीमित हुन पुग्दा नेपालले यो अवसर गुमाइसकेको छ ।

नेपालको पुरुष सिनियर टिमले सन् २०१४ मा टी–२० विश्वकप खेलेका थिए । यस्तै यू–१९ पुरुष टिमले पनि विश्वकपमा सहभागिता जनाइसकेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु