adv

ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको उद्घाटन भोलि, आवश्यक तयारी पूरा

२८ कार्तिक, दमक ।


झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेको ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको पुनःनिर्माण कार्य सम्पन्न भएसँगै विधिवत पूजाआजासहित भोलि मंगलबार उद्घाटनको हुँदैछ ।

नोभेम्बर १५ देखि १७ तारिक अर्थात (कार्तिक २९ देखि मंसिर १ गते) ३ दिनसम्म विधिवत पूजा गरेर गुम्बाको उद्घाटन गरिने गुम्बा निर्माण समितिका अध्यक्ष एवम् आर्थिक समितिका संयोजक राजमान गुरुङले जानकारी दिएका छन् ।

भुटानी शरणार्थी समुदायका मानिसहरुलाई राष्ट्रसंघ उच्च आयोग र दातृ निकायहरुले दिएको विकल्पका रूपमा विभिन्न मुलुकमा पुगेर बसोबास गरिरहेका मानिसहरुको आर्थिक सहयोगबाट गुम्बा पुनर्निर्माणको काम सकिएको .अध्यक्ष गुरुङ बताउँछन् ।

गुम्बाको पुननिर्माणका लागि विदेशमा रहेका समुदायबाट ४५ लाख बढी सहयोग जुटेको हो भने मनले खाएका नेपाली समुदायबाट पनि केही सहयोग लिइएको थियो । तर, यस निर्माण कार्यमा कुनै पनि सरकारी निकायबाट आर्थिक सहयोग लिइएको छैन ।

पुनर्निमित यस गुम्बाको निर्माण शैली र भित्र–बाहिर कुँदिएका कला, कौशल भुटानी ढाँचाका छन् । भुटान पुगे जस्तै भान गुम्बामा आउने जो कोहीलाई होस् भन्ने उद्देश्य राखेर यस किसिमले गुम्बा पुनःनिर्माण गरिएको गुरुङको भनाइ छ ।

बौद्ध धर्मावलम्बी शरणार्थी समुदायका लागि यो गुम्बा पवित्र शक्तिपिठ हो । त्यसैले यसको विधिवत उद्घाटन पूजा ल्हाबाब दुछेन अर्थात बुद्धको अवतरण भएको दिनमै गरिँदैछ ।

ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बा पुनर्निर्माण समिति, आमा समूह र लामा गुरूजनले तीन दिने यस कार्यक्रमलाई भव्य सफल पार्ने तयारी रहेको जानकारी दिएका छन् ।

सिक्किमस्थित देउराली गुम्बाका अवतारी बौद्ध लामा छोगत्रुल कुन्जाङ तेन्पाई ग्याल्छेनबाट गुम्बा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने पोखराका खेम्पो श्री लामा (थुप्तेन हिसे)बाट प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

सन् १९९७ मा बेलडाँगी शिविरमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी शरणार्थी समुदायले यो गुम्बाको स्थापना गरेका थिए । तर, शरणार्थीको तेस्रो मुलुक पुनर्वास कार्यक्रम सुरु भएपछि यहाँका ९५ प्रतिशत भन्दा बढी मानिस अमेरिका, क्यानडा, अष्ट्रेलिया, नर्वे, न्युजील्याण्ड, डेनमार्क, लगायत मुलुकहरुमा सरेपछि गुम्बा जिर्ण बन्दै गएको थियो ।

पुनर्निमित गुम्बा अब तेस्रो मुलुकबाट नेपाल घुम्न आउनेहरुका लागि पनि आकर्षणको केन्द्र र ऐतिहासिक सम्पदाका रूपमा रहने विश्वास गरिएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु