७ मंसिर, दमक ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
एमाले नेता एवम् पूर्व मन्त्री अग्नि खरेललाई फराकिलो मतान्तरले पाखा लगाउँदै शर्मा विजयी भएका हुन् ।
बुधबार अपरान्ह मत गणना कार्य सकिएसँगै शर्माले ३९ हजार ६ सय २४ मत पाउँदा खरेलले २५ हजार ३ सय ४९ मत पाएका छन् । दुई जनाबीचको मतान्तर १४ हजार २ सय ७५ रहेको निर्वाचन कार्यालयले जानकारी दिएको हो ।
शर्मा यस अघि २०७० र २०७४ लगातार दुई पटक झापा १ मा झिनो मतान्तरले पराजित हुँदै आएका उम्मेद्वार हुन् ।
उनी २०७० को दोस्रो पटक सम्पन्न संविधान सभा निर्वाचनमा एमाले नेता रविन कोइरालासँग पराजित भएका थिए भने २०७४ मा तत्कालीन वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भएका थिए ।
शर्मा तेस्रो प्रयासपछि मुलुकको राजनीतिक केन्द्र मानिएको संसदीय अभ्यास गरिने थलोमा प्रवेश पाउन सफल भएका छन् ।

