११ मंसिर, दमक ।

प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नआउँदा देश संकटमा परेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दावी गरेका छन् ।
शनिबार झापा निर्वाचन क्षेत्रका विभिन्न स्थानहरुमा आयोजित र्याली र सभालाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले मुलुकलाई निर्वाचन परिणमले सही दिशातर्फ नडोर्याएको भन्दै देश संकटमा पर्न सक्ने दावी गरेका हुन् ।
वर्तमान स्थितिमा देशलाई जोगाउने मुख्य जिम्मेवारी मतदाताहरुले एमालेलाई दिएको दावी गर्दै ओलीले सजकता साथ काम गरिनेसमेत जिकिर गरे ।
एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ झापाले कमल गाउँपालिका १ स्थित सरङ्पाडा बजारमा आयोजना गरेको विजय र्यालीपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले भने –‘झापा ५ मा रहेका मतदातालाई जति सचेत गराउन सकियो, अन्य क्षेत्रका मतदातालाई त्यति सचेत गराउन नसक्दा समस्या आयो ।’
ओलीसँगै झापा ५ प्रदेश सभा (१) बाट निर्वाचित एमाले स्यायी कमिटी सदस्य हिक्कम कार्की र प्रदेश सभा (२) बाट निर्वाचित एमाले प्रदेश १ का सचिवालय सदस्य होमबहादुर थापाले कमल गाउँपालिकाका विभिन्न स्थानहरुमा मतदाताहरुसँग भेटघाट गरी शुभकामना आदानप्रदान गरेका थिए ।
प्रदेश सभा सदस्य कार्कीले सभालाई सम्वोधन गर्दै निर्वाचनको समयमा मत माग्दा आफूहरुले व्यक्त गरेका सबै प्रतिबद्धता ५ वर्षभित्र पूरा गरेर देखाउने बताएका थिए ।
कमल गाउँपालिका ५ स्थित पाडाजुँगीबाट सुरु भएको विजय र्याली गेउरिया, दही चोक, कमल १ को सोलमारी, सरङ्पाडा, कमल ४ को छलफल चोक, कमल ३ को केराधाप हुँदै केर्खामा पुुगेर समापन भएको क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ का संयोजक तुलसी कार्कीले बताए ।

