सरिता राई, मंसिर ११ , माङसेबुङ ।

तिजोग युवा क्लब, पाँचथर इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आईतबार सम्पन्न खेलमा चारतारे युवा क्लब, मोरङलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै तिजोग पाँचथरले अन्तिम चारको यात्रा तय गरेको हो ।
भुवन बस्नेतको २ गोल र मिन धिमालको १ गोलले तिजोगलाई अन्तिम चारका लागि सुनिश्चित पारेको थियो । चारतारेका लागि सागर तिवारीले सान्तवना गोल फर्काएका थिए ।
तिजोगका लागि २ गोल गरेका भुवन खेलको म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत शनिबारको खेलमा कर्णसिं सोनाम फुटबल क्लव ताप्लेजुङलाई २–० गोल अन्तरले पराजित गर्दै जलथल झापाले अन्तिम चारमा आफूलाई सुरक्षित गरिसकेको छ ।
किरात धर्मगुरू आत्मानन्द लिङ्देनको ६९औं जन्मोत्सव तथा गुरुआमा पवित्राहाङ्मा साम्बाको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कपको सोमबारको खेल छथर गाउँपालिका, तेह्रथुम र मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतबीच हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले जानकारी दिइन् ।
प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङका गरी विभिन्न ८ टीमको सहभागीता रहेको छ ।
विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ ।
आत्मानन्द कप बिगत २ वर्षयता इलाम जिल्लाकै सबैभन्दा ठूलो नगद राशीको फुटबल प्रतियोगिताका रूपमा रहेको छ ।
इलाम सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप दुई वर्ष यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो राशीको प्रतियोगिताका रूपमा रहेको छ ।
आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरू लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा सञ्चालन हुँदै आएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

