११ मंसिर, काठमाडौं ।
आदिवासी जनजाति समुदायले सञ्चालित सामुदायिक एफएम रेडियोको संस्था इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कको आयोजनामा आइतबार सञ्चार नीति तथा कानुनका सन्दर्भमा बृहत् अन्तरक्रिया सम्पन्न भएको छ ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को), सामुदायिक रेडियोहरुको विश्व संगठन (अमार्क) एशिया प्यासेफिक र सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) समेतको सहकार्यमा आयोजित कार्यक्रममा आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न सरकारी र गैह्रसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा संवैधानिक निकाय आदिवासी जनजाति आयोग, भाषा आयोग, समाबेशी आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासंघलगायतका जातीय संस्था, नेपाल पत्रकार महासंघलगायत सञ्चारसँग सम्बन्धित संगठन र संस्थाहरुको सहभागिता थियो ।
कार्यक्रममा नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत गर्न आदिवासी जनजातिको अधिकार सम्बन्धी कानुनहरुले प्रत्याभूत गरेको आदिवासी मिडियालाई तीनै तहका सरकारहरुले नीतिगत र कानुनी मान्यता दिनुपर्नेमा जोड दिइएको थियो ।
इन्डिजिनियस कम्युनिटि रेडियो नेटवर्कका अध्यक्ष जगतमान लामा (दोङ)को अध्यक्षतामा भएको कार्यक्रममा मिडियाको अन्तर्राष्ट्रिय अभ्यास बारे देवकुमार सुनुवारले र सञ्चारकर्मी कुमार यात्रुले प्रस्तुति राखेका थिए ।


