२५ मंसिर, दमक ।

समानुपातिक सांसदको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको सूची सच्याउन सोमबारसम्मको म्याद दिइएको छ ।
आयोगले समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम पुनः सच्याएर बुझाउन दलहरुलाई आइतबार र सोमबारसम्म समय दिएको हो ।
आयोगले तोक अनुसार दलहरुले शनिबार सामानुपातिक निर्वाचनतर्फ बन्दसूचीमा समावेश भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए ।
क्लष्टर मिले नमिलेको बारेमा आयोगले आइतबारबाटै छानबिन सुरु गर्ने र पठाइएका नामहरुमा कुनै त्रुटि भए सच्याएर पुनः नाम पेस गर्न दलहरुलाई पत्राचार गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
दलहरुले यसअघि बुझाएको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीभित्रैबाट नाम परे/नपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए/नभएको छानबिन गरिने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार २९ मंसिरमा राष्ट्रपतिलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै परिणामको प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।

