
२५ मंसिर, दमक । कतारमा जारी फिफा विश्व कप फुटबलकोअन्तिम चारमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्कोले स्थान बनाएका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनल अर्जेन्टिना र क्रोएसियाबीच अन्तिम दुईमा पुग्नको लागि प्रतिस्पर्धा हुने छ भने दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् ।
अर्जेन्टिना र क्रोएसियाबीचको खेल मंगलबार राति पौने १ बजे हुनेछ भने मोरक्को र फ्रान्सबीच बुधबार राति पौने १ बजे खेल हुनेछ ।
अफ्रेकी मुलुक मोरोक्कोले पहिलो पटक अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
शनिबार रातिको खेलमा मोरोक्कोका लागि युसेफ इन नेस्स्रीले खेलको ४२ औं मिनेटमा हेडमार्फत गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । नेस्स्रीको सो गोल नै पोर्चुगललाई अन्तिम चारमा पुग्न नदिन काफी भयो ।
यस्तै साविक विजेतासमेत रहेको फ्रान्सले इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो । खेलको १७ औँ मिनेटमा फ्रान्सका लागि औरेलिएन चुआमेनीले खाता खोलेका थिए ।
दोस्रो हाफको सुरूमै इङ्ल्यान्डले पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । उसका लागि ह्यारी केनले ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गरे ।
खेलको ७८ औं मिनेटमा ओलीभिएर जिरूडले फ्रान्सको लागि निर्णायक गोल थपे । इङ्ल्यान्डले दोस्रो हाफको ६ मिनेट बाँकी रहँदा पुनः पेनाल्टी पाएर खेल बराबरी गर्ने अवसर पाए पनि कप्तान ह्यारी केनले अवसर सदुपयोग गर्न सकेनन् । उनकै गल्तीले इङ्ल्यान्डले अन्तिम चारको सपना पूरा गर्न सकेन ।
सेमिफाइनलमा जितेर आउने टिमका बीच पुष ३ गते विश्व कपका लागि फाइनल भिडन्त हुनेछ ।

