adv

१३ औँ पवित्रहाङ्मा कप महिला फुटबल प्रतियोगिता माघ २३ देखि

२४,पुष माड्ंसेबुड्ं । १३ औँ संस्करणको पवित्रहाङ्मा कप महिला फुटबल प्रतियोगिता आउँदो माघ २३ देखि फागुन ३ सम्म आयोजना गरिने भएको छ। किरात धर्म गुरुआमा पवित्रहाङ्मा लिङ्देनको ६७ औँ जन्मोत्सव अवसरमा किरात धार्मिक स्थल लारुम्बामा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

आयोजक आत्म–पवित्र हक्तात यक्चुमले शनिबार सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगितामा १० टिमले सहभागिता जनाउने जानकारी दिएको छ। प्रतियोगितामा इलामसहित झापा, उदयपुर, सुनसरी, ताप्लेजुङ, धनकुटा, मोरङ र भारत दार्जिलिङका टिमसमेत सहभागी हुने आयोजक संस्था अध्यक्ष मनप्रसाद आङ्बुहाङले बताए।

विजेताले ट्रफी सहित नगद २ लाख १ सय ६७ र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ पाउनेछन्।

प्रतियोगितामा इलामका जनता सेभेन र माङ्सेबुङ गाउँपालिका, झापाका रोयल स्पोर्टिङ, कन्काई नगर खेलकुद, उदयपुरको गाईघाट, सुनसरीको माउन्ट एभरेस्ट, ताप्लेजुङको कर्णसिंह सोनाम, धनकुटा जिल्ला फुटबल संघ, मोरङको नवदीप र भारत दार्जिलिङको एमएफसी सहभागी हुने आयोजकले जनाएको छ।

त्यस अवसरमा फुटबलबाहेक म्याराथुन, पक्लुङ, लठ्ठा तान्ने, म्युजिकल चेयर, हाँडी फुटाउनेजस्ता दर्जन खेल आयोजना गरिएको छ। म्याराथुन विजेताले नगद ५ हजार १ सय ६७ रुपैयाँ पुरस्कार पाउनेछ। इलामस्थित जिल्ला फुटबल संघले प्रतियोगिताका लागि प्राविधिक सहयोग गरेको छ।

जिल्ला सदरमुकामबाट भौगोलिक हिसाबले टाढा रहेको लारुम्बामा लामो समययता निरन्तर आयोजना भइरहेको प्रतियोगिता हो यो। लारुम्बामा गत मंसिरमा पनि किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सव अवसरमा १५ औँ संस्करणको पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। यस पटकको प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु