adv

नवजात शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड

२६ पुष, दमक ।


नवजात शिशुको अस्पतालमै मृत्यु भएपछि आक्रोशित भीडले झापाको दमकस्थित आम्दा अस्पतालमा तोडफोड गरेका छन् ।

आइतबार जन्मिएको बच्चाको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित भीडले अस्पतालमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिएका हुन् ।

आक्रोशित भीडले आम्दा अस्पतालको प्रसुती गृहमा तोडफोड गरेको र सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रहरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का र उनकी पत्नी रोषा कट्वाललाई आइतबार राति १०ः३० बजे शल्यक्रियामार्फत पुत्र लाभ भएको थियो ।

नवजात शिशुको अवस्था मंगलबार बिहानसम्म सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुमा समस्या देखिएपछि समयमै उपचार नहुँदा उनको मृत्यु भएको मृतकका पिता बाबुराम खड्काले जानकारी दिए ।

डिएसपी गिरीको पहलमा उनकै कार्यकक्षमा पीडित पक्ष र अस्पताल प्रशासनबीच आइतबार दिउँसो छलफल भई सहमति भएको बताइएको छ । छफफलका क्रममा मृतक पक्षले अस्पतालमा तोडफोड भएकोप्रति माफी मागेको गिरीले जानकारी दिए ।

घटना बारे मृतकका पिता खड्काले भने –‘समयमै चिकित्सक नआएका कारण बच्चालाई बचाउन सकिएन । ममाथि जस्तो घटना भयो, त्यस्तो अरुलाई नहोस् भन्ने हो ।’

खड्काका अनुसार सुत्केरीको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश शर्माले शिशुको उपचारमा सक्दो प्रयास गरे पनि बचाउन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु