
१७ माघ,झापा ।अब एटिएम कार्ड जारी गरेको बैंकबाहेक अन्य बैंकको एटिएम (अन्तरबैंक एटिएम)प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढि नलाग्ने भएको छ। राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशन २०७९ ले अन्तर बैंक एटिएम प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरेको हो।
राष्ट्र बैंकले कोभीड कालमा प्रत्येक महिना दुई वटासम्म यस्तो कारोबारमा बैंकहरूले शुल्क लिन नपाउने गरि दिएको सुविधा समेत हटाएको छ। अन्तर बैंक एटिएम प्रयोग गर्दा करीब १० रूपैयाँ मुलुक बाहिरीने गरेको छ। यही कारण यस्तो सुविधा हटाइएको हो। यसअघि अन्तर बैंक एटिएमको प्रयोगमा अधिकतम २० रूपैयाँसम्म लिन पाइने व्यवस्था थियो।
त्यस्तै, विद्युतीय कारोबार गर्दा खाताबाट रकम काटिने तर भुक्तानी वा ट्रान्सफर नहुने अवस्थामा समेत नयाँ नियम ल्याइएको छ। यसरी पैसा पठाउनेको खाता रहेको संस्था र पाउनेको खाता रहेको संस्था फरक फरक भएपनि पनि कारोबारपछिको तीन दिन भित्र हिसाब मिलान हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो कारोबारको हिसाब मिलानको लागि सात दिनको समय दिइएको थियो।
वालेटबाट प्रतिदिन गरिने रकममान्तर (फण्ड ट्रान्सफर)को सीमा समेत परिवर्तन गरिएको छ भने प्रति कारोबार रकमको सीमा हटाइएको छ। अब बैंक खाताबाट वालेटमा प्रतिदिन दुई लाख रूपैयाँ, वालेटबाट अन्य बैंक खातामामा पनि प्रति दिन दुई लाख रूपैयाँ र एउटा वालेटबाट अर्को वालेटमा ५० हजार रूपैयाँसम्म पठाउन पाइनेछ।
वालेटबाट बैंकका रकम पठाउँदा मात्रै १० रूपैयाँ लाग्ने व्यवस्था समेत गरिएको छ। एजेन्ट मार्फत् वालेटमा पाँच हजार देखि २५ हजारसम्म रकम लोड गर्दा र झिक्दा प्रति कारोबार पाँच देखि २५ रूपैयाँसम्म लाग्ने भएको छ।
मोबाइल बैंकिङ वा इन्टरनेटबाट अन्तर बैंक रकम पठाउदा प्रतिकारोबार १० रूपैयाँ मात्र लाग्ने व्यवस्था गरिएको छ।
रियल टाइम ग्रस सेटलमेन्टको माध्यमबाट कारोबार गर्दा विहानको समयमा प्रति कारोबार १० रूपैयाँ, दिउसको समयमा २० रूपैयाँ र साँझको समयमा भने दुई सय रूपैयाँ शुल्क तोकिएको छ।
वालेटमार्फत् राजस्व भुक्तानीमा पनि अबदेखि अधिकतम १० रूपैयाँभन्दा बढी शुल्क तिर्न नपर्ने भएको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेट मार्फत गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा यस्तो व्यवस्था गरिएको हो।
यसअघि तीन हजारसम्मको यस्तो भुक्तानीमा पाँच रूपैयाँ, सो रकमदेखि १० हजार रूपैयाँसम्मको लागि १० रूपैयाँ र १० हजारभन्दा माथिको भुक्तानीमा २० रूपैयाँसम्म लाग्ने गर्दथ्यो। अब भने पाँच हजार रूपैयाँसम्मको लागि पाँच रूपैयाँ, सो देखि १० हजार रूपैयाँसम्मको लागि ८ रूपैयाँ र सोभन्दा माथिको लागि १० रूपैयाँ शुल्क तोकिएको छ।

