
२२ माघ,झापा । बङ्गलादेशमा भइरहेको यू–२० महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको छ ।
आइतवार ढाकामा भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो । नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् भने कप्तान प्रिती राईले एक गोल गरिन् ।
नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो भने भुटानलाई भारतले १२ गोलले हराएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि आउँदो बिहीवार खेल्नेछन् ।

