adv

४ वटा ट्यांकरमा ल्याइएको डिजेलमा मिसावट, कारबाही हुन्छ : निगम

२१ फागुन, चाराली ।


भारतको सिलुगडीबाट डिजेल ढुवानी गरी नेपाल आयल निगमको झापास्थित चारआली डिपोमा ल्याउने क्रममा ४ वटा ट्यांकरको डिजेलमा मिसावट गरिएको पाइएको छ ।

एक ट्यांकर बराबर २० हजार लिटरका दरले ४ वटा ट्यांकरमा भित्र्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको पाईएको हो ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायको गत फागुन १० गते पारीबाट डिजेल बोकेर आएका ती ४ वटा ट्यांकरमा मिसावट पुष्टि भएको जानकारी दिएका छन् ।

प्रवक्ता उपाध्यायका अनुसार केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा ती ट्यांकरको डिजेलमा मिसावट प्रमाणित भएको पाइएको हो । उनले भने –‘डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको छ तर डिजेलमा कुन पदार्थ मिसवट गरिएको थियो भन्ने नखुलेको हुँदा डिजेलको गुणस्तर परीक्षण गर्न भारतीय आयल कर्पोरेसन (आईओसी) मा पठाउन लागेका छौं ।’

आईओसीको सिलिगुडी डिपोबाट लोड गरिएको मे.१ ख. २१४९, मे. १ ख. २१५१, ना.७ ख. १५०७ र ना. ७ ख. ६९७४ नम्बरको ट्यांकरको डिजेलमा घनत्व कम भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पछि निगमले अनुसन्धान सुरु गरेको थियो ।

आयल निगमले ८ सय २० देखि ८ सय ५० किलो प्रतिघनमिटर घनत्वलाई मात्रै मान्यता दिन्छ । तर, चारआलीमा भित्रिएका डिजेलमा तल्लो प्यारामिटर भन्दा कम घनत्व रहेको पाइएको थियो ।

मिसावट पुष्टि भएपछि चार वटै ट्यांकर र यसका चालक एवम् व्यवसायीलाई कारबाहीको तयारी भइरहेको उपाध्यायले जानकारी दिएका छन् ।

निगमको ढुवानी विनियमावलीअनुसार कम्तीमा ६ महिनाका लागि इन्धन ढुवानी इजाजत निलम्बन गर्नेगरी कारबाही अघि बढेको निगमले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु