कमन देवान
२७ फागुन, दमक ।

कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आन्दोलनरत प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले भोलि आइतबारलाई आह्वान गरेको प्रदेश आम हडताल सफल पार्न आह्वान गरेको छ ।
बन्दको पूर्वसन्ध्यामा शनिबार साँझ प्रदेशका विभिन्न सहर र पहाडी जिल्लाका सदरमुकामहरुमा संघर्ष समितिको आह्वानमा राँके जुलुश प्रदर्शन र कोण सभा भएका छन् ।
चोक बजार इलाममा आयोजित राँके जुलुशपछिको कोण सभालाई पूर्व मन्त्री गोपाल किरातीले सम्बोधन गरेका थिए । त्यस्तै विर्तामोडको विरोध सभालाई राष्ट्रिय जनमुक्ति पार्टीका नेता सञ्जुहाङ पालुङ्वाले सम्बोधन गरेका थिए ।
मोरङको बेलाबारी र पथरीमा आयोजित कोणसभालाई जसपा नेपालका नेताहरु लोकसागर साम्बा, केदार धिमाललगायतले सम्बोधन गरेका थिए ।
सुनसरीको धरान, इटहरी, झापाको दमक, भोजपुर बजार, उदयपुरको गाईघाट, खोटाङ, ओखलढुङ्गा, पाँचथरको फिदिम, इलामको माङसेबुङलगायत प्रदेशका विभिन्न सहरहरुमा राँके जुलुशसहितको विरोधका कार्यक्रमहरु सम्पन्न भएको समितिले जनाएको छ ।
शनिबार नै संघर्ष समितिले सुनसरीको धरानमा पत्रकार सम्मेलन आयोजना गरेर भोलिको बन्द बारे स्पष्ट पारेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ –‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त इतिहास र साझा पहिचानलाई नामेट पार्दै शासक जातीय एकल पहिचानमा आधारित तिनकै पितापुर्खा कौशिक बाहुनको नाममा रहेको कोशी नदीको नामबाट प्रदेश सभाले विना कुनै छलफल र बहस छलकपटपूर्ण एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोशी प्रदेश’ नामकरण गरेकोमा उक्त प्रदेश नाम ‘कोशी’ खारेज गर्न र वहुल पहिचानको आधारमा प्रदेश नम्बर १ को नाम पुनः नामाङ्कन गराउन ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ जोडदार माग गर्दछ ।’
बन्दकर्ताले फागुन २८ को आम हड्तालको दिन एम्बुलेन्स, खानेपानी, दूध बोक्ने गाडी, शव वाहन र मलामीका साधन, बिहेको गाडी, कुटनैतिक एवम् अन्र्तराष्ट्रिय नियोग, पत्रकार र मानवअधिकारका गाडीहरु बाहेकका सवारी साधन चल्न नदिने विज्ञप्तिमा उल्लेख गरेको छ ।
सम्पूर्ण व्यापार व्यवसाय, उद्ययोग कलकारखाना, यातायात, स्कूल, बजार, कार्यालयलगायत प्रदेशव्यापी ठप्प पारिने जनाइएको छ ।
संयुक्त संघर्ष समितिले भोलिको आम हडताल सफल पार्न व्यापक जनपरिचालन गर्ने बताएको छ ।
भोलिको बन्द सांकेतिक विरोध मात्रै भएको हुनाले शान्तिपूर्ण तरिकाले सम्पन्न होस् भन्ने आफूहरुले चाहेको आन्दोलनरत घटक किरात याक्थुङ चुम्लुकका अध्यक्ष प्रेम एक्तेनले जानकारी दिए ।
उनले भने –‘हामीले बन्द गरेर सहयोग गरिदिन अनुरोध गरेका छौं । तर, राज्य पक्षबाट उल्लंघन भएमा त्यसबाट कुनै अप्रिय घटना भए ऊ आफै जिम्मेवार रहन्छ ।’
पहिचानको पक्षमा रहेका दलहरु जसपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति, किराती मोर्चालगायत आन्दोलनमा छन् । त्यस्तै कांग्रेस, एमाले र माओवादीका किरात र लिम्बुवान पहिचान चाहने घटकहरुको समेत शनिबारको विरोध प्रदर्शनमा व्यापक सहभागिता थियो ।
संयुक्त संघर्ष समितिमा नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, अन्य विभिन्न जातीय संस्थाहरु, धार्मिक संस्थाहरु, तिनका भातृ संगठनहरुको सहभागिता रहेको छ ।
त्यस्तै भोलि हुने आम हडतालको समर्थनमा दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा समेत संघर्ष समितिले प्रदर्शन गर्दैछ ।
त्यस्तै संघर्ष समितिले चैत ५ गते प्रदेश राजधानी बिराटनगरमा आमसभा आह्वान गरेको छ ।



