२८ फागुन, दमक ।
झापाका विभिन्न स्थानहरुबाट प्रहरीले हालसम्म १३ जनालाई नियन्त्रणमा लिएको छ ।
कोशी प्रदेश खारेजीको माग गर्दै आज आइतबार बन्द आह्वान गरेर सडकमा निस्किएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार बिहान बिर्तामोड र काँकडीभिट्टाबाट ५ जना प्रहरी नियन्त्रणमा परेका थिए।
दमकमा आन्दोलनकारीले यातायातका साधन रोकेर नाराबाजी गर्न थालेपछि प्रहरी र आन्दोलनकारीबीच हात हालाहालको स्थिति सृजना भएको थियो।
प्रहरीले दमकबाट ८ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।
दमकबाट प्रेमदिप थाम्सुहाङ, याम लोरिङ्देन, महेन्द्र चाम्लिङलगायत नेता कार्यकर्ता पक्राउ परेका हुन ।
प्रहरीले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै प्रदेश आमहडताल आह्वानकर्ता प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्षसमितिले निन्दा गरेको छ ।
प्रहरी नियन्त्रणमा रहेका आन्दोलनकारीलाई बिन शर्त रिहा गर्न समितिका दमक नगर संयोजक देबेन्द्र चेम्जोङले माग गरेका छन ।
आन्दोलनकारीले प्रदेश २. ०३.००१ ख ३३३३ नम्बरको मालबाहक ट्रकमा सामान्य क्षति पुर्याएका छन ।




