adv

उपराष्ट्रपतिमा जसपा नेता रामसहाय प्रसाद यादवको जित

३ चैत, काठमाडौं ।


नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न निर्वाचनमा पार्टीभित्र भद्र, शालिन र इमान्दार नेताको छवि बनाएका यादवले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा बाजी मारेका हुन् ।

बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका उनी जसपाका संसदीय दलका नेतासमेत हुन् ।

निर्वाचन आयोगले शुक्रबार साँझ सार्वजनिक गरेको मत परिणाम अनुसार यादवले संघीय सांसद् तर्फ १८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएका थिए ।

यादवका अन्य दुई प्रतिद्वन्द्वी मध्ये एमाले उम्मेद्वार शाक्यले संघीय सांसद् तर्फ १०४ को मतभार ८२१६ र प्रदेश सभाको मत १६९ को मतभार ८११२ पाएकी थिइन् ।

अर्की प्रत्यासी जनमतकी ममता झाले संघीय संसद् तर्फ २३ मतको मतभार १८१७ र प्रदेश सभातर्फ १५ मतको मतभार ७२० पाएकी थिइन् ।

स्वच्छ राजनीतिको जित : उपेन्द्र यादव

यसैबीच जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको जित स्वच्छ राजनीतिको जित भएको टिप्पणी गरेका छन् ।

जसपा उम्मेद्वार यादव निर्वाचित भएसँगै संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमान्दारिता र स्वच्छ छविको प्रतिक भएको बताए ।

‘उहाँको यो विजयले स्वच्छ राजनीति र स्वच्छ छविलाई प्रोत्साहन दिने छ । यो विजय सबैको विजय हो’, यादवले भने ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले यादवको विजय बारे खुशी हुँदै भने –‘कांग्रेसको तर्फबाट निर्वाचित उपराष्ट्रपतिजीलाई बधाई दिन चाहन्छौँ । उहाँको कार्यकाल पूर्ण रुपमा सफल होस्, शुभकामना दिन चाहन्छु ।’

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु