६ चैत, दमक ।
राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति राम सहाय प्रसाद यादवले जितेका निर्वाचन क्षेत्रहरुमा आउँदो २०८० वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले आज सोमबार जारी गरेको विज्ञप्तिमा आगामी बैशाख १० का लागि उपनिर्वाचनको मिति तय भएको जानकारीदिइएको हो ।
राष्ट्रपति पौडेल तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र उपराष्ट्रपति यादव बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।संविधान अनुसार अब यी दुवै क्षेत्र रिक्त भएका छन् ।
आयोगको सोमबारको बैठकले पौडेल र यादव क्रमशः राष्ट्रपति र उपराष्ट्रपति पदमा निर्वाचित भएसँगै रिक्त ती दुई निर्वाचन क्षेत्रमाउपनिर्वाचनका लागि निर्वाचन कार्य तालिका नै सार्वजनिक गरेको छ ।
वैशाख १० गतेका दिन बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएकोआयोगको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले २०७९ चैत १६ गते उपनिर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरीनिर्वाचन चिन्ह प्रदान गरिने आयोगको तयारी छ ।
उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने आयोगले विज्ञप्तिमा उल्लेख छ ।


