adv

कोशी प्रदेश खारेजी आन्दोलनका कारण बिराटनगर तनावग्रस्त, ३० जना घाइते

१४ चैत, दमक ।


कोशी प्रदेश खारेजी र पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने मागसहित जारी आन्दोलनका कारण मंगलबार प्रदेश राजधानी बिराटनगर तनावग्रस्त भएको छ ।

मंगलबार प्रदर्शनमा उत्रिएका पहिचान पक्षधर आन्दोलनकारी र सुरक्षाकर्मीबीच पटक पटक झडप हुँदा विराटनगर तनावग्रस्त बनेको हो ।

विराटनगरको होटल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दवाव दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच पटक पटक झडप हुँदा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ गरी ३० बढी घाइते भएको बताइएको छ ।

कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रिहरु र सबै प्रदेशसभा सदस्य सहभागी हुने तय भएको पनि आन्दोलनकारीले होटलमै आक्रमण गरेपछि आधा भन्दा बढी प्रदेश सभा सदस्यहरु उपस्थित नभएको स्रोतले जनाएको छ ।

सुरक्षाकर्मीतर्फ १२ जना घाइते भएको मोरङ प्रहरीका प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिएका छन् । त्यस्तै आन्दोलनकारीतर्फ करिब डेढ दर्जनबढी घाइते भएका बताइएको छ ।

घाइते हुनेहरूमा अशोक राई, सरोज लिम्बू, ज्ञानबहादुर राई, शिव आङ्दाम्बे, उदय लिम्बू, सुरज राई, एनके दर्नाल, विशाल राई र पदमलाल लिम्बू, रेशम राई, रोयल राई, मिल किराती, आस्था राईलगायत रहेका छन् ।

 

२९ राउन्ड हवाई फायर, ४४ सेल अश्रु ग्यास प्रहार

 

स्थिति नियन्त्रणमा लिन भन्दै सुरक्षाकर्मीले चेतावनी स्वरूप २९ राउण्ड हवाइ फायर गरेको र ४४ सेल अश्रु ग्यास प्रहार गरेको जनाएको छ ।

मोरङ जिल्ला प्रहरी प्रमुख एसपी पोखरेलका अनुसार नेपाल प्रहरीले १७ राउण्ड हवाइ फायर गरेको र सशस्त्र प्रहरी बलले १३ राउण्ड हवाइ फायर गरेको जानकारी दिएका छन् ।

त्यस्तै नेपाल प्रहरीले १३ राउण्ड अश्रु ग्यास प्रहार गरेको र सशस्त्र प्रहरी बलले ३१ राउण्ड अश्रु ग्यास प्रहार गरेको बताइएको छ ।
सुरक्षाकर्मीले आन्दोलनकारीलाई तितरबितर पार्न पानीको फोहरासमेत प्रहार गरेको थियो ।

गत चैत ५ गतेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको लाठीचार्जबाट गम्भीर घाइते भएका ४२ वर्षीय पदम लिम्बू (लाजेहाङ) को १० गते बिहान उपचारका क्रममा मृत्यु भएपछि कोशी प्रदेश खारेजी आन्दोलन थप सशक्त बन्दै गएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु