१५ चैत, दमक ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले पहिचानको आधारमा प्रदेश नम्बर १ को नामाकरण हुनु पर्छ भन्ने माग सम्बोधन गरिनु पर्ने दावी गरेको छ ।
पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा नहुने भन्दै जसपाले करिब १ महिना यता जारी आन्दोलनलाई सरकारी पक्षले बेवास्ता गरेको भन्दै यसले सरकारमाथि नै प्रश्न उठेको ठहर गरेको हो ।
प्रवक्ता मनिष सुमनले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा हुदै होइन ।
उत्पपीडित राष्ट्रियताप्रति राज्य यति नकारात्मक र सशंकित हुनुपर्ने कुनै कारण पनि छैन । सबै र राजनीतिक अधिकार स्थापित हुने कुराले राष्ट्रियता अझ बलियो हुन्छ । आन्दोलनलाई वेवास्ता गर्नु लोकतन्त्रप्रतिको वेवास्ता हो ।’
जसपाले पहिचान प्राप्तिको आन्दोलनमा होमिएका पदम लिम्बु (लाजेहाङ)को निधनप्रति दुःख व्यक्त गरेको छ । लिम्बूलाई सहिद घोषणा गर्न र मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गर्दै आन्दोलनका घाइतहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न समेत माग गरेको हो ।


