२० चैत, बारा ।

बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सोमबार मनोनयन दर्ता गराएका छन् ।
यसअघि जसपाबाटै निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै रिक्त रहेको बारा २ बाट अध्यक्ष यादव चुनावी मैदानमा उत्रिएका हुन् ।
अध्यक्ष यादवले दिउँसो १ बजे आउँदो उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेको जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले जानकारी दिए ।
यादवको मनोनयनका लागि जसपाले पार्टी नेता कार्यकर्तासहित समर्थकहरुलाई बारामा केन्द्रित गरेको थियो । सो क्रममा सयौं जसपा कार्यकर्ताहरुले नाराजुलुस गरेका थिए ।
अध्यक्ष यादवको मनोनयनसँगै उनको जित सुनिश्चित रहेको जसपा निकट नेताहरुले दावी गरेका छन् ।
जसपाका एक केन्द्रीय नेताले भने –‘राष्ट्रिय राजनीतिमा उत्पीडित जाति, वर्ग, लिङ्ग र क्षेत्रको प्रतिनिधित्व गर्ने र मधेश र मधेशी जनताको अधिकारका लागि अध्यक्षज्यू (उपेन्द्र यादव)को जति योगदान छ, त्यो हाराहारी अरु कुनै पनि नेताले यस प्रदेशबाट योगदान गरेको छैन । त्यसैले उहाँलाई जनताले जिताउने पक्का छ ।’
बारा क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनेका यादवले सञ्चारकर्मीहरुलाई भनेका छन् –‘गठबन्धनमा आबद्ध नेता कार्यकर्ता सबै आ–आफ्नो तयारीमा लागिसक्नुभएको छ । हाम्रो पार्टी पनि उपनिर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ’, उनले भने, ‘चुनावको तयारीमा लागिसकियो, जनताका बीचमा पुग्न थालिसकियो । गठबन्धनमा रहेका र बाहिर भएकाहरूको पनि हामीलाई मत आउँछ भन्नेमा म विश्वस्त छु ।’
उनलाई संघीय सरकारमा रहेको सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एस, लोसपा र जनमोर्चाको समर्थन रहेको छ ।
लोसपाबाट उम्मेद्वारी दिने चर्चा रहे पनि सो पार्टीका नेता राजेन्द्र महतोले सत्ता गठबन्धनको निर्णय र आफ्नो पार्टीको निर्णय अनुसार जसपा अध्यक्ष यादवलाई समर्थन गरेको बताइसकेका छन् ।
यादवलाई संघीय संसद्मा राष्ट्रिय राजनीतिको आवश्यकताकै कारण बारा २ बाट निर्वाचित गराएर लैजाने सत्ता गठबन्धनको तयारीपछि संघीयता, गणतन्त्र र धर्म निपेक्षता विरोधीहरु तिल्मिलाएको आरोप जसपाको छ ।
यादवविरुद्ध अनर्गल प्रचार गर्ने सिके राउत र उनले नेतृत्व गरेको जनमत पार्टीका कार्यकर्तामा राजनीतिक संस्कारको कमी रहेको जसपाको निष्कर्ष रहेको छ ।
यसअघि नै यादवले एक टेलिभिजन अन्तरवार्तामा राउत र उनी पक्षधरको विरोधलाई हात्ती र कुकुरसँग तुलना गरेका छन् । राउत पक्षको गलत प्रचारमा विश्वास नगर्न र सत्यमा आधारित रहेर विश्लेषण गर्न उनले आग्रह गरेका छन् ।
यादवसँगै सोमबारको मनोनयनमा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, जनमतका शिवचन्द्र कुशवाह, राप्रपाका सोनेलाल शाह, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी लगायतले उम्मेदवारी दिने बताइएको छ ।
भारी मतान्तरले यादवको जित हुने आँकलन
बैशख १० मा उपनिर्वाचन हुन लागेको बारा २ मा १ लाख पाँच हजार ११ जना मतदाता रहेका छन् ।
त्यसमध्ये जसपाका रामसहाय यादव (अहिलेका उपराष्ट्रपति) ले १३ हजार ८२२ मत ल्याएर जसपा–एमाले गठबन्धनबाट विजयी भएका थिए ।
दोस्रो स्थानमा रहेका माओवादी–कांग्रेस–लोसपालगायत पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कुशवाहा (माओवादी)ले १३ हजार ४६८ मत ल्याएका थिए । उनी जनमत पार्टीमा प्रवेश गरेर त्यहाँबाट पुनः उम्मेदवार बनेका छन् ।
तेस्रो स्थान जसपाबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर यादवले ११ हजार ४३ मत ल्याएका थिए । रामकिशोर यादव जसपामै फर्किसकेका छन् ।
उपेन्द्र यादवविरुद्ध प्रचार गर्दै आएको जनमत पार्टीको आफ्नो मत भने २ हजार ७२५ मात्रै हो । जनमतले केही असन्तुष्ट मत बटुल्ने योजना बनाएर कुशवाहालाई उम्मेदवार बनाएको छ ।
समग्रमा गत निर्वाचनको मतभार हेर्दा जसपा अध्यक्ष यादवलाई बलियो मतान्तरसहितको जित हाँसिल हुने दावी देखिन्छ ।


