adv

उपनिर्वाचनले बारा २ मा तातियो माहोल, जसपा अध्यक्ष यादवले जित्ने दावी

२२ चैत, जनकपुर ।


बैशाख १० मा हुने उपनिर्वाचनका कारण बारा २ को निर्वाचन माहोल तातिएको छ ।

बारासँगै तनहुँको १ र चितवन २ मा समेत सोही मितिमा उपनिर्वाचन हुने भए पनि हेबीवेट उम्मेद्वारका कारण बारा २ बढी चर्चामा आएको हो ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको बारा २ मा मनोनयन दर्ता गरेसँगै राष्ट्रिय राजनीतिमा बारा २ ले चर्चा पाएको हो ।

मनोनयन दर्ता गर्नु एक दिन अघिदेखि नै जसपा अध्यक्ष यादवले बारा २ मा चुनावी घरदैलो सुरु गरिसकेका छन् । उनलाई जनमतका सिके राउतसहितको समूहले टक्कर दिने प्रयास गरेको छ ।

गत निर्वाचनमा जसपाका शालिन नेता रामसहाय प्रसाद यादवले जित हाँसिल गरेको बारा २ मा उनी मुलुकको उपराष्ट्रपति निर्वाचित भएसँगै उपनिर्वाचन हुन लागेको हो ।

जसपाको बलियो पकड मानिएको बारा २ मा अध्यक्ष यादवसँग चुनावी प्रतिस्पर्धा गर्ने अन्य दलका उम्मेद्वार नदेखिएको जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले दावी गरेका छन् ।

सिके राउत नेतृत्वको जनमतले कडा चुनौती दिएको भनिन्छ नि ? भन्ने प्रश्नमा यादवले भने –‘फेसबुक र सामाजिक सञ्जालमा फेक आइडी बनाएर प्रचार गरिएको छ, त्यसमा सत्यता छैन ।’

जसपा अध्यक्ष यादवविरुद्ध राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत म्रामक र अनर्गल प्रचार गर्ने गरेको जसपाको आरोप छ ।

जसपाका एक नेताले भने –‘उहाँहरुसँग न जनता छ, न मुद्दा छ । उपेन्द्र यादवले लडेर ल्याइदिएको उपलब्धिमा टेकेर उहाँ (उपेन्द यादव) माथि नै खोइरो खन्ने कालिदास प्रवृत्तिलाई त के भन्न सकिन्छ र ?’

सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले जसपा अध्यक्ष यादवलाई गठबनधनको तर्फबाट साझा उम्मेद्वार बनाएसँगै यस पटक उनको संसद छिर्ने सम्भावना बलियो देखिएको हो ।

उनी गत निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराकिलो मतान्तरले पराजित भएका थिए ।

यादवलाई कडा टक्कर दिने भन्दै जनमतले अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादी गठबधनबाट उम्मेद्वार भइ पराजित शिवचन्द्र कुसवाहालाई उम्मेद्वार बनाएको छ । राजनीतिक विचारमा भन्दा पनि चुनावी दाऊपेचमा केन्द्रित कुसवाहा जनमतबाट उम्मेद्वार हुने तय नहुँदासम्म माओवादी केन्द्रमा नै थिए ।

जनमत आफैले भने अघिल्लो निर्वाचनमा २ हजार मत नकटेको क्षेत्र हो बारा २ ।

सत्ता प्रतिपक्षी दल नेकपा एमालेले भने पुरुषोत्तम पौडेललाई बारा २ मा उम्मेद्वार बनाएको छ ।

एमालेले उम्मेद्वारी दिएसँगै पहिचान र संघीयताको विरोधरुवरूप उपेन्द्रविरुद्ध जाने केही भोट एमालेका पौडेललाई जाने हुनाले यसबाट फाइदा नै पुग्ने जसपाले आँकलन गरेको छ ।

त्यस्तै संघीयता र प्रदेश नै खारेज गर्नुपर्ने भन्दै घुमाउरो पाराले संघीय लोकतान्त्रिक गणतन्त्रकै खारेजीको निम्ति अभियान गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले उम्मेदवारी दिएका छन् ।

गत निर्वाचनमा काठमाडौं–१ मा लज्जास्पद मत पाएका खरेलले पनि उपेन्द्रको मत नभइ विरोधी मत काट्ने आँकलन जसपाको छ ।

अन्य साना दल र स्वतन्त्रका उम्मेद्वारले समेत बारा २ मा आ–आफ्नो भाग्य आज्माउने कोसिस गरेका छन् ।

तर, सत्ता गठबन्धनको ६ दलका तर्फबाट साझा उम्मेद्वार बनेका जसपा यादवका लागि बारा २ सहज जितको क्षेत्र हुने स्थानीय मतदाताले दावी गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु