१६ बैशाख, दमक ।
कोशी प्रदेश नामाकरण खारेज र प्रदेश नम्बर १ को पुन: नामाकरण पहिचानको आधारमा गर्नुपर्ने माग सहित जारी आन्दोलन एमालेअध्यक्ष केपी शर्मा ओलीको प्रदेश भ्रमणका कारण थप तरंगित बनेको छ ।
एमाले अध्यक्ष ओली गृहजिल्ला झापालगायत पार्टीले तय गरेका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्व आउँदा उनलाई कोशी प्रदेशनामांकनको मुख्य रचनाकार भन्दै पहिचान पक्षधर आन्दोलनकारीले झापा, इलाम र पाँचथरमा कालो झण्डासहित विरोध प्रदर्शन गरे।
ओलीले सम्बोधन गर्ने भनी तय भएको झापा बुधबारेको कार्यक्रममा पहिचान पक्षधरले ओलीलाई कालो झण्डा देखाए ।आन्दोलनका क्रममा मित्र लिङ्देन, बुलेट राई लगायत पक्राउ परे, उनीहरुलाई छुटाउन अहिले पनि आन्दोलनकारीले दवाव दिँदैआएका छन् ।
त्यस्तै संविधान सभा अध्यक्ष समेत भैसकेका सुबास नेम्बाङ सहित इलाम पुगेका ओलीलाई दोस्रो दिन पहिचान पक्षधर आन्दोलनकारीले कालो झण्डा देखाएर विरोध गरे । सो क्रममा १० जना आन्दोलनकारी पक्राउ परेका थिए । उनीहरुलाई त्यसै दिनराति छोडियो ।
तेस्रो दिन साँझ पाँचथर सदरमुकाम फिदिममा ओलीविरुद्ध पहिचान पक्षधरले राँके जुलुशसहित प्रदर्शन गरे ।
विरोधका क्रममा आन्दोलन असफल पार्न ब्यापक घुषपैठ भएको पहिचान पक्षधरहरुले आरोप लगाएका छन् । उनीहरुले प्रदर्शनकाक्रममा घुषपैठ गरेर प्रहरीलाई ढुङ्गामुढा गर्नहरुको पहिचान भैसकेको भन्दै उनीहरु विरुद्ध किटानी उजुरी दिएका छन् ।
४ दिने भ्रमणमा पूर्व आएका अध्यक्ष ओलीविरुद्ध पहिचान पक्षधरले आन्दोलनको कार्यक्रम केन्दृत गरेपछि बिराटनगर लक्षित प्रदर्शनभने स्थगित भएको छ ।
कोशी प्रदेश खारेजी र प्रदेश नम्बर १ को पुन: नामांकन पहिचानको आधारमा गराउन आन्दोलनरत पक्षको आन्दोलनलाई स्वयम् ओलीले भने अराजक र आतंककारीको संज्ञा दिएका छन् ।
विरोध र कालो झण्डा सामना गर्दै कार्यक्रमहरुमा पुगेका एमाले अध्यक्ष ओलीले पूर्वमा उठेको आन्दोलनमा पूर्व राजा र उनकोपरिवारले घुसपैठ गरेको समेत आरोप लगाएका छन् भने पूर्व राजाको सम्वाद सचिवालयले भने सो अरोपको खण्डन गरिसकेको छ ।
कोशी प्रदेश खारेजीको आन्दोलन चर्किँदै जाँदा प्रहरीको लाठी प्रहारबाट चैत ५ गते घाइँते बनेका पदम लिम्बू (लाजेहाङ) को चैत १०गते उपचारको क्रममा निधन भयो । राज्यले उनलाई चित २४ गते सहिद घोषणा गरेको थियो ।




