२० बैशाख, दमक ।
झापाको दमकमा मंगलबार होटल र पर्यटन व्यवसायसँग जोडिएकाहरुका लागि एक दिने क्षमता वृद्धि तालिम सम्पन्न भएको छ ।
पर्यटन कार्यालय काँकडभिट्टाले झापाको दमकका होटल र पर्यटन व्यवसायीहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम दिएको हो ।
दमक २ स्थित दमक फन पार्कमा सम्पन्न तालिममा पर्यटन विज्ञ सागर खनालले पर्यटन व्यवसाय र बजारीकरण, पर्यटन विज्ञ मोति पौडेलले पर्यटन व्यवसायको क्षमता अभिवृद्धि, आन्तरिक राजस्व कार्यालय दमकका कर अधिकृत दलकुमार राईले कर र यसका विविध पक्षबारे प्रशिक्षण दिएका थिए ।
त्यस्तै पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी निरोज कट्टेलले पर्यटक स्तरीय होटल, रिसोर्ट तथा रेष्टुरेन्ट दर्ता सम्बन्धि जानकारी र यसका फाइदा बारे प्रस्तुति दिएका थिए । पर्यटकलाई समस्या परेमा वा पर्यटकले समस्या गरेमा पर्यटक प्रहरीको सहयोग लिन सकिने भन्दै पर्यटक प्रहरी काँकड्भिट्टाकी इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक गीता बस्नेतले पर्यटकको सहजताका लागि हटलाइन नम्बर ११४४ मा सम्पर्क गर्न सकिने जानकारी दिइन् ।
कार्यक्रममा दमकका होटल व्यवसायी, ट्राभल एण्ड टुर व्यवसायी, टुर गाइड लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत रामसुन्दर थापाको प्रमुख आतिथ्यता र पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख प्रभात भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष राजन दंगालले स्वागत गरेका थिए । कार्यक्रमको औचित्य बारे पर्यटन कार्यालय काँँकडभिट्टाका सूचना अधिकारी निरोज कट्टेलले प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा) का प्रदेश अध्यक्ष उदय कुमार श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि विभिन्न विभिन्न योजना र कार्यक्रमहरु आवश्यक रहेको औंल्याएका थिए ।
होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालले आर्थिक मन्दीको वर्तमान अवस्थामा राज्यले होटल तथा पर्यटन व्यवसायीहरुको हितका लागि राहत र सहुलियतका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।
त्यस्तै होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य भूपेन्द्र न्यौपानेले खाई नखाई राज्यलाई कर तिर्ने होटल व्यवासयीहरुमाथि दर्ता, नवीकरण जस्ता कार्यमा अनावश्यक दुःख दिइने र करको मामिलामा थुप्रै समस्या झेल्नु परेको भन्दै गुनासो गरे ।



