२० बैशाख, दमक ।

जसपा निकट पत्रकारहरुको संगठन प्रेस मञ्च नेपालले अधिकारका लागि अभिव्यक्ति स्वतन्त्रताको सम्मान र रक्षा नभइरहेको टिप्पणी गरेको छ ।
आज बुधबार मे ३ का दिन विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस मञ्च नेपाल संघीय समितिले विज्ञप्ति जारी गर्दै प्रश्न गरेको छ –‘ हाम्रो राज्य, व्यवस्था र सरकारहरु, सरकारका संयन्त्रहरु अभिव्यक्ति स्वतन्त्रताका लागि साँच्चै इमान्दार छन् त ? नेपाली सन्दर्भमा सामाजिक न्यायका लागि लडिएका लडाइँ र आन्दोलनहरुमा के साँच्चै मानव अधिकारको रक्षा भएको छ त ?’
देशका ठूला भनिएका मिडियाहरुले सीमान्तकृतका पहिचान र अधिकारका मुद्दालाई स्थान नदिएको विज्ञप्तिमा आरोप लगाइएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघले समेत उत्पीडित समुदायका मागहरुका सन्दर्भमा पैरवी गर्न तयार नभएको मञ्चका अध्यक्ष कमन देवानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मञ्चले ३० औँ विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल र विश्वभर प्रेस र वाक स्वतन्त्रताको सम्वाहकका रूपमा कार्यरत सम्पूर्ण श्रमजीवि पत्रकारहरुलाई शुभकामना र उत्तरोत्तर प्रगतिको कामना समेत गरेको छ ।
संयुक्त राष्ट्र संघले सन् १९९३ को मे ३ का दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने घोषणा गरेयता हरेक वर्ष मे ३ का दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने चलन छ ।
यस वर्ष ‘अधिकारको भविष्यलाई आकार दिँदैः अन्य सबै मानव अधिकारका लागि चालकको रूपमा अभिव्यक्तिको स्वतन्त्रता’ भन्ने अन्तर्राष्ट्रिय नारा कायम गरिएको छ ।


