२६ बैशाख, दमक ।

नेपाल सरकारले ८औँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वितरण गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ वितरणमा समावेशीताको सिद्धान्तलाई अवलम्बन नगरिएको भन्दै विभिन्न ४ वटा पत्रकार संगठनहरूले विरोध गरेका छन् ।
सोमबार संयुक्त रूपमा विज्ञप्ति जारि गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), राष्ट्रिय दलित पत्रकार संघ, मधेसी पत्रकार समाज र मुस्लिम जर्नलिष्ट क्लबले समावेशी समानुपातिक प्रतिनिधित्वको चरम उपहास गर्दै गरिएको छनोट प्रक्रियाप्रति गम्भीर असहमति रहेको बताएका हुन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन राई, राष्ट्रिय दलित पत्रकार संघका महासचिव लक्ष्मण दर्नाल, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह र मुस्लिम जर्नलिष्ट क्लब, नेपालका अध्यक्ष आलम खानले हस्ताक्षर गरेको बिज्ञप्तिमा भनिएको छ –‘हरेक परिवर्तनका आन्दोलनहरूमा सहयात्री आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिमलगायत अल्पसंख्यक समुदायमाथि राज्यको यस किसिमको व्यवहार कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’
पुरस्कार वितरणमा सरकारले गरेको असमावेशी छनौटले नेपाल सरकार आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम र अल्पसंख्यक समुदायका पत्रकारहरुप्रति पूर्वाग्रही देखिएको र उनीहरुको योगदानलाई सम्मान र कदर गर्न तयार नभएको संगठनहरुले आरोप लगाएका छन् ।
विज्ञप्ति जारी गर्दै संगठनहरुले आगामी दिनहरूमा यस्ता एकल नस्लवादी चरित्रमा सुधार ल्याउन र साझा, समावेशी, योगदानमा आधारित प्रतिभाहरू पुरस्कृत हुन सक्ने विधि, पद्धतिको निर्माण गर्न समेत माग गरेका छन् ।

