आन्दोलनकारीतर्फ १२ जना र प्रहरीतर्फ १० बढी घाइते भएको दावी
कमन देवान
२६ बैशाख, दमक ।

मंगलबार साँझ झापाको दमकमा प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुनः नामाङ्कन गर्नुपर्ने माग सहित आन्दोलनरत पक्षबीच झडप हुँदा २० जना भन्दा बढी घाइँते भएका छन् ।
पहिचान पक्षधर आन्दोलनकारीले मंगलबार साँझ झापाको दमकमा राँके जुलुशसहित प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।
दमकको गोरखा डिपार्टमेन्ट अगाडिदेखि सुरु भएको राँके जुलुशलाई प्रहरीले दमकको गणतन्त्र चोकमा आइपुगेपछि रोक्ने प्रयास गरेको थियो । प्रहरी र आन्दोलनकारीबीच राँको खोसाखोस गर्ने क्रममा झडप सुरु भएको थियो ।
झडपका क्रममा २ जना आन्दोलनकारीलाई गोली लागेको आन्दोलनकारी पक्षले दावी गरेको छ । गोली लागेर घाइँते हुनेहरुमा दीक्षा क्षेत्री र गजेन्द्र फागो रहेका आन्दोलनकारी पक्षले जानकारी दिएको हो ।
क्षेत्रीलाई गोलीको छर्राले लाग्दा शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ भने फागोलाई घुँडामा गोली लागेको र खुट्टा समेत भाँचिएको छ ।
उनीहरुलाई दमकको आम्दा अस्पताल र लाइफलाइन अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको हो । उनीहरुको अवस्था गम्भीर रहेको जसपा झापा जिल्ला अध्यक्ष दिपेन बाला राईले जानकारी दिए ।
आन्दोलनकारीतर्फ अन्य १० जना घाइँते भएको लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय कमाण्डर थाङसाङ लावतीले जानकारी दिए । उनी कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय नेता हुन् ।
त्यस्तै झडपका क्रममा सुरक्षाकर्मीतर्फ १० जना भन्दा बढी प्रहरी घाइते भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी मनोजकुमार लामा, प्रहरी निरीक्षकद्वय देवानन्द मिश्रा र जीवन गौतमसहित प्रहरी घाइते भएका जानकारी दिएका छन् । उनीहरुको उपचार दमकस्थित विभिन्न अस्पतालहरुमा भएको बताइएको छ ।
प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीका तर्फबाट १९ सेल अश्रु ग्यास, ५ राउन्ड ब्लाङ्क फायर र १ राउण्ड हवाई फायर गरिएको हो ।
प्रत्यक्षदर्शीका अनुसार आन्दोलनकारी पक्षले प्रहरीमाथि भाँटा र ढुङ्गा प्रहार गरेका थिए । दुई पक्षबीच झडपका क्रममा आन्दोलनकारीले प्रहरीलाई दमकको बेलडाँगी रोडतर्फ लखेटेका थिए । त्यसको प्रतिवादमा प्रहरीले अश्रु ग्याससहित हवाई फायर गरेको थियो ।
प्रदेशको नाम कोशी राखिएपछि पूर्वका विभिन्न स्थानहरुमा जारी आन्दोलन थप आक्रमक बन्दै गएको छ । कोशी नाम खारेज गरेर प्रदेशको पुनः नामाकरण पहिचानका आधारमा राख्नुपर्ने मागसहित पहिचान पक्षधर राजनीतिक दल र विभिन्न जातीय संघसंस्थाहरुले प्रदेश राजधानी बिराटनगरसहित विभिन्न स्थानहरुमा विरोध र प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शनका क्रममा गत चैत ५ गते बिराटनगरमा प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका पदम लिम्बू (लाजेहाङ)को चैत १० गते मृत्यु भएको थियो । उनलाई सरकारले सहिद घोषणा गरेको छ ।



