३ जेठ, दमक ।
आज मदन–आश्रित स्मृति दिवस ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटनमा परि मृत्यु भएको थियो ।
भण्डारी र आश्रितको निधन भएको स्मृतिमा नेकपा एमाले र सम्बद्ध जनसंगठन लगायत प्रतिष्ठानहरुले आज देशैभरी विभिन्न कार्यक्रम आयोजना गरेर दुई नेतालाई स्मरण गर्दैछन् ।
नेपालको कम्युनिष्ट आन्दोलन संसदको अन्त्यसहित सत्ता कब्जाबाट सफल नहुने निष्कर्षसहित भण्डारीले जनतामाझ निर्वाचनमा गएर मन र मत जित्दै सत्तामा स्थापित हुनुपर्दछ भन्ने विचार र मान्यता अघि सारेका थिए ।
‘जनताको बहुदलीय जनवाद‘ नामक राजनीतिक कार्यक्रमको माध्यमबाट एमालेलाई नेपाली राजनीतिमा स्थापित गराउन भण्डारीकोप्रमुख हात रहेको थियो ।
एमालेकै अगुवाईमा मदन भण्डारीका नाउँमा विभिन्न सरकारी र सामुदायिक प्रतिष्ठान, खेलमैदान, सडक, राजमार्ग आदि नामाकरणगरिएका छन् ।
रहस्यमय दुर्घटनामा मारिएका उनीहरुको योजनावद्ध हत्या भएको एमालेले तत्कालीन समयमा आरोप लगाएको थियो । तर, त्यसयता एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल सहित केपी शर्मा ओली दुई पटक देशको प्रधानमन्त्री हुँदा पनि दासढुङ्गा घटना बारे खोजी गरिएन ।
भण्डारी पत्नी विद्यदेवी भण्डारी दुई पटक देशको राष्ट्रपति पदमा पुगे पनि रहस्यमय भनिएको सो घटनाको अनुसन्धानमा चासो दिइएन ।


