३ जेठ, दमक ।
अपहरणमा परेको भनी व्यापक खोजतलास गरिएका शेरबहादुर सुहाङ (पूर्ण) बुधबार फेला परेसँगै प्रहरीको नियन्त्रणमा परेका छन् ।
प्रहरीले बुद्धशान्ति ४ का सुहाङलाई हराएको भ्रम फैलाई झुक्याएको आरोपमा नियन्त्रणमा लिएको हो ।
बुधवार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले स्थानीयसमेतको सहयोगमा उनलाई ईलाम रोङ गाउँपालिका वडानम्बर ४ स्थित बिरिङखोलाको पुलमुनिबाट फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरीनायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।
प्रहरीले सुहाङ हराएको भ्रम फैलाउन सहयोगी भूमिका खेलेको आरोपमा सोही ठाउँका ३९ वर्षिय प्रेम भन्ने फूलबहादुर गौतमदर्जीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जनाएको छ ।
गत बैशाख ३१ गते साँझ ५.४० बजेको समयमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बालुवाटार चौकमा नेपाल तरुण दलबुद्धशान्तिका सभापति करण लाबुङको नेतृत्वमा भ्रष्टाचारविरुद्धको बिरोध कार्यक्रम भएको थियो ।
सुहाङले फेसबुकमा सो बिरोध कार्यक्रमका सम्बन्धमा आयोजकहरुलाई लक्षित गरि स्टाटस लेखेका थिए ।
आफूले लेखेको स्टाटस तरुण दलका स्थानीय नेताहरुलाई सेयर गरेपछि विवाद हुँदा आफू बेपत्ता पारिएको भन्ने भ्रम सुहाङलेफैलाएको र सो कार्यमा दर्जीले उनलाई मद्दत गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
प्रहरीले घटना सम्बन्धमा तालिमप्राप्त कुकुर समेतको प्रयोग गरी बैज्ञानिक अनुसन्धान शुरु गरेको थियो । सुहाङ र दर्जी मिलेरबुद्धशान्ति गाउँपालिका वडा नम्बर ७ पैनिबगरमा आफूले लगाएको टि–सर्ट च्यातेको, घडी समेत चुडाई फाली भ्रम सिर्जना गरीसम्पर्कबिहीन भएको प्रहरीको दावी छ ।
सुहाङ अचानक बेपत्ता भएपछि खोजतलासका लागि उनका आफन्तहरुले ईलाका प्रहरी कार्यालय धुलाबारीमा जेठ १ गतेहुलियासहित निवेदन दिएका थिए ।
त्यस्तै जेठ २ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लेटरप्याडमा लिम्बुवान भोलेन्टियर्स (एल.भी.) ईन्चार्ज सुहाङलाई सकुशलअपहरण मुक्त गरी दोषीलाई कडा कार्वाही गरियोस् भन्ने ब्यहोराको प्रेस बिज्ञप्ति समेत जारी गरिएको थियो ।
उनको खोजीमा कोशी नामाकरण विरुद्ध आन्दोलनरत पहिचान पक्षधर संयुक्त मोर्चाका नेताकार्यकर्ताहरु समेत लगातार ३ दिनदेखिलागेका थिए ।


