८ जेठ, दमक ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् ।
सोमबार जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको निर्वाचन समितिको बैठकमा अध्यक्ष यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको हो ।
जसपा केन्द्रीय कार्यकारिणी समितिले संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।मिथिलेस सिंहको नेतृत्वमा रहेको समितिमा दिपेन्द्र झा र अर्जुन थापा सदस्य थिए ।
समितिले सोमबार जसपा संसदीय दलको कार्यालयमा दलको नेता चयन बारे बोलाएको बैठकमा यादवको नाम सर्वसम्मत पारित भएको जसपा केन्द्रीय कार्यालयले जानकारी दिएको हो ।
अध्यक्ष यादव गत वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित भएका थिए ।
यस अघि जसपा संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत चयन भएका थिए । उनी उपराष्ट्रपति भएपछि रिक्त रहेको दलको नेतामा अध्यक्ष यादव सर्वसम्मत बनेका हुन् ।

