adv

प्रदेशको सीमामा सशस्त्र प्रहरी संख्या न्यून

९ जेठ, दमक ।

सशस्त्र प्रहरी बल बराहा बाहिनीका प्रमुख बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेलले भारतसँग सीमा जोडिएको प्रदेश नम्बर १ को भूभागमा प्रतिकिलोमिटर २ जना मात्रै सशस्त्र प्रहरीको उपस्थिति रहेको बताएका छन् ।

झापाको भद्रपुर ८ मा अवस्थित सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वाटर झापाको १६ औं स्थपना दिवसलाई सम्बोधन गर्दै सोमबार डिआइजी पोखरेलले यस्तो बताएका हुन् ।

सशस्त्र प्रहरी बलले यस वर्षदेखि मातहतका गणहरुको स्थापना दिवस मनाउन थालेको हो । डिआइजी पोखरेलले केक काटेर स्थापना दिवसको खुशियाली साटेका थिए ।

प्रदेश १ को झापा, मोरङ र सुनसरी जिल्लाको २ सय ७० र इलामको ५२ किलोमिटर सीमा क्षेत्र भारतको बिहार र पश्चिम बंगाल राज्यसँग जोडिएको छ ।

दक्ष, अनुशासित र व्यवसायिक संगठनका रूपमा सशस्त्र प्रहरी बाललाई स्थापित गर्नुपर्ने भन्दै पोखरेलले त्यसको निम्ति आर्थिक अनुशासन र पादर्शीता प्रमुख रहेको दावी गरे । उनले भने –‘ आर्थिक अपारदर्शिताले संगठनलाई धरासायी बनाउने हुनाले हामीले यस मामिलामा शून्य सहनशीलता अपनाएका छौं ।’

पोखरेलले आन्तरिक र बाह्य शान्ति सुरक्षा, सीमा स्तम्भको सुरक्षा, राजश्व चुहावट नियन्त्रण र प्राकृतिक विपत र जोखिम न्यूनीकरणमा सशस्त्र प्रहरीले खेलेको भूमिकालाई सबैले स्मरण गर्ने पोखरेलको भनाइ थियो ।

कार्यक्रममा बोल्दै भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले सीमामा सशस्त्र प्रहरीको उपस्थितिले नेपालको सीमा सुरक्षा बलियो भएको दावी गरेका थिए । उनले अभाव र कष्टका साथ सशस्त्र प्रहरी कर्मचारीहरुले देशको सेवामा समपर्ण भावका साथ कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । सरकारले सशस्त्र प्रहरी बलको व्यवसायिक, भौतिक र संगठनात्मक विकासमा ध्यान दिनुपर्ने पोखरेलको सुझाव थियो ।

झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आन्तरिक, बाह्य र सीम सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिकाको प्रशंसा गरे । राजश्व चुहावट नियन्त्रणमा समेत सशस्त्र प्रहरी बलले कुशलतापूर्वक भूमिका खेलेको उनको भनाइ थियो ।

सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले गणको कार्य क्षेत्रमा पर्ने झापा जिल्लाको भारतसँग सीमा जोडिएको दश गजा क्षेत्र क्लियर रहेको जानकारी दिए । सीमित स्रोत साधन र जनशक्तिका बावजुद कर्तव्य र जिम्मेवारी पूरा गर्न गणले कुनै कसर बाँकी नराखेको उनको भनाइ थियो ।

कार्यक्रममा रस्साकस्सी खेल, नृत्य, गायन प्रस्तुत गर्नुका साथै वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित २ माइल दौड, फुटबल र भलिबल प्रतियोगितामा विजेता सशस्त्र प्रहरीका टिमलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

त्यस्तै अवकास प्राप्त गर्ने प्रहरी कर्मचारी, गणभित्र विभिन्न जिम्मेवारीमा उत्कृष्ट कार्य गर्ने कर्मचारी, अमर प्रहरीका परिवारजनलाई कदर, सम्मान र प्रशंसा गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु