१३ जेठ, दमक ।

पहिचान पक्षधर समूहले भोलिबाट बिराटनगरमा सुरु हुने प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन लक्षित आन्दोलन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यलय मोरङले अनिश्चितकालीन निशेधाज्ञा जारी गरेको छ ।
कोशी नाम खारेज गरेर प्रदेश नम्बर १ को नामा पुनः पहिचानको आधारमा राखिनुपर्ने माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले भोलि प्रदेश राजधानी बिराटनगरमा विरोध प्रदर्शन गर्नेभएपछि शान्ति–सुरक्षामा असर पर्ने भन्दै जिल्ला प्रशासन कार्यलय मोरङले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा भनिएको छ –‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०८० ।०२। १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, ¥याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ ।’
प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म जिल्ला प्रशासनले निषेधाज्ञा तोकेको हो ।
यसैबीच पहिचान पक्षधर आदोलनकारीले भने हिजो नै बिराटनगरमा ‘पहिचानको लागि युवा दस्ता’ घोषणा गरेको छ । भोलिबाट निरन्तर बिराटनगर केन्द्रित विरोध प्रदर्शन गर्ने भन्दै जिल्लाहरुबाट मानिस बिराटनगर आन्दोलनमा सहभागी गराउने बारे तयारी गरिरहेको खबर छ ।
आन्दोलनका क्रममा गत चैत ५ गते प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका पदम लिम्बू (लाजेहाङ)को चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । सरकारले उनलाई सहिद घोषणा गरेको छ ।
त्यस्तै गत बैशाख २६ गते साँझ दमकमा पहिचान पक्षधरको राँकेजुलुशमा प्रहरीसँग झडप हुँदा चुलाचुलीका गजेन्द्र फागोको देब्रे घुँडामा गोली लागेको थियो । उनको हाल राजधानीको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।


