१३ जेठ, काठमाडौं ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि पेश गरेको नीति तथा कार्यक्रम शनिबारको प्रतिनिधिसभा बैठकमा बहुमतले पारित भएको हो ।
राष्ट्रियसभाको बैठकमा भने जेठ ९ गते नै नीति तथा कार्यक्रम पारित भएको थियो ।
नीति तथा कार्यक्रम पारित हुनु भन्दा अगाडि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए । सो प्रस्ताव निर्णयार्थ पेश हुँदा सत्ता गठबन्धन दलका सांसदहरुले समर्थन गरेसँगै बहुमतले पारित भएको हो ।
सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।
गत जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए भने प्रतिनिधिसभा र राष्ट्रियसभामा सो विषयमा अलग अलग छलफल भएको थियो ।

