१४ जेठ, दमक ।
कोशी नाम खारेजीको आन्दोलनमा प्रदेश राजधानी बिराटनगर पुगेका आन्दोलनकारी समूहलाई प्रहरीले आज आइतबार बिहानदेखि नै ब्यापक धरपकड सुरु गरेको छ ।
हिजोबाटै प्रदेश राजधानी बिराटनगरका विभिन्न क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय मोरङले आजको आन्दोलन मत्थर पार्न बिहानैबाट धरपकड सुरु गरेको हो ।
आज बिहानै प्रहरीले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता कार्यकर्तालाई बिराटनगरको देवकोटा चोकबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा लिम्बूलगायत छन् ।
प्रहरीका अनुसार निषेधित क्षेत्रबाट एलभी लेखिएको हेलमेट लगाएका १२/१५ जनाको समूहलाई पक्राउ गरिएको हो ।
त्यस्तै आज बिहान नै देवकोटा चोकबाटै किरात राई यायोक्खाका अध्यक्ष जीवन हताचो राईसहित ८ जना आन्दोलनकारीलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ गरिएकालाई वडा प्रहरी कार्यालय लगिएका छ ।
आन्दोलनकारी समूहले हिजो शनिबार साँझ महेन्द्र चोकमा प्रदर्शन गरेका थिए भने शुक्रबार पहिचानको लागि युवा दस्ता सार्वजनिक गरेका थिए ।
प्रहरीले आन्दोलनकारीलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र प्रदेश प्रमुख निवास लगायत क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ ।
आज २ बजेका लागि डाकिएको प्रदेश सभा बैठकका लागि प्रदेश सभाका सदस्यहरु बिहानै टिफिन बोकेर प्रदेश सभास्थलमा प्रवेश गरेको विभिन्न सञ्चार माध्यमहरुमा खबर छ ।
प्रदेश सभामा आजबाट प्रदेशको नीति तथा कार्यक्रमबारे छलफल सुरु हुने बताइएको छ ।
तस्वीर सौजन्य : सुजता लिम्बू