adv

आन्दोलनकारी छाड्ने सहमतिसँगै आम हड्ताल फिर्ता

१६ जेठ, दमक ।

बिराटनगरमा पक्राउ परेका आन्दोलनकारीहरुलाई रिहाइ गर्ने सहमतिसँगै भोलि जेठ १७ गतेबाट आह्वान गरिएको अनिश्चितकालीन आम हड्ताल फिर्ता भएको छ ।

प्रहरी नियन्त्रणमा राखिएका आन्दोलनकारी छाड्न प्रशासन तयार भएसँगै बुधबारदेखि आह्वान गरिएको प्रदेश आम हड्ताल फिर्ता भएको हो ।

जेठ १४ गते प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मागसहित प्रदेश राजधानी बिराटनगरमा गरिएको प्रदर्शनका क्रममा पक्राउ परेका २६ जनालाई जिल्ला प्रशासन कार्यलय मोरङले मुद्दा चलाउने तयारी गरेपछि सो विरुद्ध मंगलबार घेराउ र बुधबारदेखि अनिश्चितकालीन प्रदेश आम हड्ताल गर्ने प्रदेश नं १ पुनः नामाङ्कन समितिले आह्वान गरेको थियो ।

प्रशासन र आन्दोलनरत पक्षबीच आन्दोलनका कार्यक्रम शान्तिपूर्ण गर्ने, आगजनी र तोडफोड नगर्ने, कार्यालय सञ्चालन र आवागमन अवरुद्ध नगर्ने सहमति भएसँगै हिरासतमा रहेका आन्दोलनकारी छाड्ने र आम हड्ताल फिर्ता लिने निर्णय भएको हो ।

संयुक्त संघर्ष समितिको एक घटक किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले प्रशासन र आफूहरुबीच आन्दोलनकारी छाड्ने र आम हड्ताल फिर्ता लिने सहमति भएको जानकारी दिए । उनले शान्तिपूर्ण रूपमा आफूहरुले राख्दै आएको कोशी खारेजी र पहिचानका आधारमा प्रदेशको पुनः नामाकरणको आन्दोलन जारी रहने बताए ।

नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का उपाध्यक्ष अशोक चेम्जोङसहितका आन्दोलनकारी नेता कार्यकर्ताहरुलाई प्रहरीले आइतबार दिउँसो बिराटनगरको विभिन्न स्थानहरुबाट पक्राउ गरेको थियो ।

जेठ १४ गतेको प्रदर्शनमा प्रहरीले व्यापक घरपकड गरेको थियो भने २० जना आन्दोलनकारी र प्रहरीतर्फ उत्तिकै संख्यामा घाइँते भएका थिए । प्रहरीको लाठी प्रहारबाट धेरैको टाउकोमा चोट लागेको र रगत बगेको थियो ।

प्रहरीतर्फसमेत आन्दोलनकारीको ढुङ्गा प्रहारबाट घाइते भएको बताइएको छ । बिराटनगरस्थित कोशी प्रादेशिक अस्पताल र न्यूरो अस्पतालमा घाइतेहरुको उपचार भएको थियो ।

स्थिति नियन्त्रणमा लिने भन्दै प्रहरीले दर्जनौं संख्यामा अश्रु ग्यास र हावाई फायर गरेको थियो भने आन्दोलनकारीलाई तितरबितर पार्न भन्दै पानीको फोहरा प्रहार गरेको थियो ।

आन्दोलनमा सहभागी भएको भन्दै प्रहरीले ८६ जना प्रदर्शनकारीलाई हिरासतमा लिएर मध्यरातपछि मात्रै मुक्त गरेको थियो ।

किरात राई यायोक्खा अध्यक्ष जीवन हताचोसहित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावतीलगायत आइतबार बिहानै प्रहरी नियन्त्रणमा परेका थिए ।

प्रदेश सभाले आफ्नो वार्षिक नीति तथा कार्यक्रम बारे आइतबार २ बजेका लागि बैठक डाकेको थियो । बैठकलाई लक्षित गरी प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले विरोध प्रदर्शन गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु