बजेटको आकार – ३६ अर्ब २४ करोड, सांसद खुशी पार्न २ करोड र १ करोड बाँढिँदै
३२ जेठ, दमक ।

अल्पमतको हिक्मत कार्की सरकराले बिहीबार अध्यादेशकोे सहारामा प्रदेशको बजेट सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
जेठ महिनामा सत्ता साझेदार मध्येमा जसपा र नेकपा माओवादी केन्द्रले कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर
सरकार छाडेसँगै कार्की सरकार अल्पमतमा परेको थियो । अल्पमतमा परेर सदनमा बजेट प्रस्तुत गर्ने हैसियत गुमाएपछि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको समेतको भूमिकामा रहेका मुख्यमन्त्री कार्कीले बजेट ल्याउन अध्यादेशको सहारा लिएका हुन् ।
वर्षे अधिवेशनमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सत्ता छाडेको माओवादी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेशबाट बजेट ल्याउने तयारी गर्नु भन्दा पहिले सरकारले विश्वासको मत लिनु पर्ने सुझाएका थिए ।
मुख्यमन्त्री कार्कीले चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रुपैयाँ, वित्तीय व्यवस्थाका लागि १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ६० करोढ २९ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिएका छन् ।
अल्पमतको सरकार चलाइरहेका उनलाई प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने भन्दै सडकमा चलिरहेको आन्दोलनको समेत सामना गर्नु परेको छ । सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुँदा कार्कीसहित प्रदेश सरकारका मन्त्री र कोशी नाममा हस्ताक्षर गर्ने एमलेका ४० सहित ८२ जना प्रदेश सभा सदस्यविरुद्ध जनस्तरबाट विरोध कायमै रहेको छ भने सार्वजनिक बहिस्कार र प्रतिकार हुँदै आएको छ ।
सस्तो लोकप्रियताका लागि कार्कीले आगामी आ व को बजेटमा प्रदेशका कर्मचारीलाई दैनिक २ सय खाजा भत्ता, प्रदेश प्रमुख स्वास्थ्य सहुलियत कार्यक्रम घोषणा, प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रमका लागि भन्दै प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड र समानुपातिक सांसदलाई १ करोड दिइने उल्लेख गरेका छन् । कृषिमा अनुदान दिने बजेटले बोलेको छ ।
जसपा र माओवादी केन्द्रले कार्की नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ९३ सदस्यीय प्रदेशसभामा सरकारको समर्थनमा सत्तारूढ एमालेका ४० र राप्रपाका ६ गरी ४६ मात्र सांसद छन् । प्रतिपक्षमा कांग्रेसका २९, माओवादीका १३ (एक सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना गरी ४७ सांसद प्रतिपक्षमा छन् ।


