३ असार, दमक ।

झापाको दमकस्थित दमक अस्पतालमा सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न दमक नगरपालिकाले टोकन प्रणाली लागू गर्ने भएको छ ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले दमक अस्पतलको सेवालाई व्यवस्थित बनाउन आगामी आर्थिक वर्षदेखि टोकन प्रणाली लागू गर्ने तयारी भएको जानकारी दिएकी हुन् ।
आज आइतबार बिहान सञ्चारकर्मीहरुसँग दमक नगरपालिकाको आगामी वार्षिक बजेट र प्राथमिकता निर्धारण बारे छलफल र सुझाव लिने क्रममा उपप्रमुख भट्टराईले अस्पतालको सेवा बारे थुप्रै नीतिगत सुधारहरु गरेर जाने निर्णय भएको खुलासा समेत गरिन् ।
उनले भनिन् –‘अस्पतालमा सेवा लिन आउने सेवाग्राहीको भीडभाड देखिनु एउटा विश्वासको वातावरण पनि हो । यहाँ मध्यम वर्गीय, विपन्न र गरिब मानिसहरु उपचारको लागि आउनु हुन्छ । निजी अस्पतालहरुमा स्वास्थ्य बिमाको सेवा रोक्किएका कारण पनि हाम्रो अस्पतालमा चाप बढेको हो । हामी यसलाई सक्दो व्यवस्थापन गर्ने गरी नीति बनाएर अघि बढ्दैछौं ।’
अस्पतालमा सेवाग्राहीको चाप हुनुका पछाडि दमकको मात्रै नभएर पूर्वी मोरङ, इलामको पश्चिम दक्षिण र झापाकै अन्य पालिकाहरुबाट समेत स्वास्थ्य बिमा रेफर सेन्टरका रूपमा दमक अस्पताल रहेको हुनाले दमक अस्पतालमा भीडभाड भएको उपप्रमुख भट्टराईको भनाइ छ ।
बिमाबाट दिइने स्वास्थ्य सेवाका लागि दमक अस्पतालको छाप नै अन्य अस्पताल भन्दा फरक रहेको उनले दावी गरिन् । ८ भन्दा बढी विशेषज्ञ डाक्टरहरुबाट उपचार सेवा दिएर छाटो समयमै दमक अस्पतालले उल्लेखनीय सफलता पाएको भट्टराईको दावी छ ।
दमक अस्पताल दमक नगरपाकिलाबाट सञ्चालित १५ शैय्याको सरकारी अस्पताल हो । दमक नगर कार्यपालिकाले बिगतको वर्षमा लामो समय अस्पतालको व्यवस्थापन समिति गठन गर्न नसक्दा यस अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले सास्ती भोग्नु परेको समाचारहरु बाहिर आएका थिए ।
बिगत केही महिनायता दमक अस्पतालको अध्यक्षमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा नेतृत्वको अस्पताल व्यवस्थापन समिति गठन भएर कार्यरत छ ।


