६ असार, माङसेबुङ ।
माङसेबुङ ५ स्थित सरस्वती माध्यमिक विद्यालयबाट कक्षा १० को एस इ इ परीक्षा दिएर बसेका रोशन आङ्देम्बे मंगलबार मध्यान्हमा कृषि कार्य गर्दैगर्दाभेटिए ।
कक्षा ९ देखि विद्यालयले ऐच्छिक विषयका रूपमा सञ्चालन गरेको बाली विज्ञान विषय गर्दै आएका आङ्देम्बे खोर्सानीको बोट गोड्दै थिए ।
उनी हामीसँग कुरा गर्न अलिकति धकाए, लजाए पनि । नाम ठेगाना सोध्दा सानोश्वरमा भने -‘रोशन आङ्देम्बे, माङसेबुङ ५ ।‘
२ वर्ष बाली विज्ञान विषय पढ्दा आफूले तरकारी बालीको लागि चाङ निर्माण गर्ने, टनेल खेती गर्ने, विभिन्न बाली रोप्ने, स्याहार गर्ने र फलेको बाली वा तरकारी टिप्नेजस्ता काम सिकेको बताउने आङ्देम्बे मेहनत गर्न सक्दा कृषि कार्यबाट आत्मनिर्भर बन्न सकिने बताउँछन् ।
उनले भने -‘मेहनत गर्न सकियो भने तरकारी खेतीबाट राम्रै उत्पादन र आय आर्जन हुन सक्छ भन्ने लाग्छ ।‘
आफूलाई कृषि विज्ञानमै रूचि भएको बताउने रोशन एस ई ई परीक्षाको नतिजापछि के विषय पढ्ने र कहाँ गएर उच्च शिक्षा पढ्ने ? भन्नेमा दोधारमा छन्।
अभिभावकसँग सल्लाह गरेर मात्रै के पढ्ने ? कहाँ पढ्ने ? भन्ने विषय टुङ्गो लाग्ने उनको भनाइ छ ।
ऐच्छिक विषयका रूपमा कक्षा ९ देखि कक्षा १२ सम्म बाली विज्ञान विषय पढाइहुने सरस्वती माविमा विद्यार्थीहरुलाई वैज्ञानिक र आधुनिक कृषि कार्य सम्बन्धि सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइने विद्यालयका शिक्षक मनकुमार आङ्बुहाङलेजानकारी दिए ।
सरस्वती माविमा बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीले विद्यालय आसपासका खेतबारीमा विभिन्न बाली लगाएका छन् । त्यहाँ करेला, खोर्सानी, बोडी, बैगुन जस्ता सब्जी फलाइएको छ ।
टनेल खेतीमार्फत टमाटर फलाइएको छ ।




