१० असार, दमक ।

ग्रामीण पत्रकारिता र समाचार लेखन बारे पाँच दिने आधारभूत पत्रकारिता तालिम झापाको दमकमा सुरु भएको छ ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा कम्युनिकेशन मिडिया हाउस प्रा.लि. इलामको आयोजनामा शनिबारबाट युवा लक्षित सो तालिम सुरु भएको हो ।
दमकस्थित पत्रकार मञ्चको सभाहलमा चलिरहेको तालिममा माङसेबुङ गाउँपालिकासहित २६ जनाको सहभागिता रहेको छ ।
शनिबारको तालिममा कमन देवान र विष्णु पोखरेलले ग्रामीण पत्रकारिताका सम्भावना र चुनौती बारेमा सहजीकरण गरेका थिए ।
बुधबारसम्म चल्ने सो तालिममा अमरध्वज लामा, गणेशमान मुखिया, भूमिका फियाक, चिरञ्जीबी घिमिरेले समेत सहजीकरण गर्ने छन् ।
‘स्थानीय विकासको लागि सञ्चार’

तालिमको उद्घाटन गर्दै माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले स्थानीय विकासको लागि सञ्चारको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
माङसेबुङमै तालिम गरिनु पथ्र्यो, दमकमा किन गरियो ? भनेर विभिन्न टिक्काटिप्पणी भएको भन्दै अध्यक्ष राईले माङसेबुङका अधिकांश युवा उच्च शिक्षाको लागि दमक बस्नुपर्ने वाध्यता रहेकाले तालिम दमकमा आयोजना गरिएको जानकारी दिए ।
कुनै समय आफूले पनि पत्रकारिता गरेको अनुभव सुनाउँदै उनले पत्रकारिताको आधारभूत ज्ञान लिन, सीप र क्षमता विकास गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
तालिमको उद्घाटनसत्रमा बोल्दै माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङले वर्षायाममा माङसेबुङको भौगोलिक कठिनाईका कारण सहभागीहरुलाई सहजताका लागि दमकमा कार्यक्रम गर्नुपरेको जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, पत्रकार मञ्च दमकका पूर्व अध्यक्ष विष्णु पोखरेल, फोनिज झापाकी उपाध्यक्ष सबिना राईलगायतले शुभकामना व्यक्त गरेका थिए ।
नितेश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सजन राईको सञ्चालन रहेको थियो ।

