१० असार, काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विधान अधिवेशन आज आइतबार दिसँसो १ बजेबाट सुरु हुँदैछ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आइतबारबाट सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ ।
जसपाका प्रवक्ता मनीष सुमनले दिएको जानकारी अनुसार विधान अधिवेशनमा केन्द्रीय समितिका ४१० जनालगायत प्रदेश समिति, राष्ट्रिय
समिति, जिल्ला समिति, जनवर्गीय संगठनका गरी ९०० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहने छ ।
विधान मस्यौदा पारित
हिजो शनिबार सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले विधान अधिवेशनमा प्रास्तुत हुने पार्टी विधानको मस्यौदा पारित गरेको छ ।
सर्वसम्मत पारित विधान मस्यौदामा १३ सदस्य पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरिएको छ ।
जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ३ जना र कोषाध्यक्ष १ जना निर्वाचित गर्ने व्यवस्था छ ।
पदाधिकारी तथा सदस्यहरूको निर्वाचन गर्दा तीन जना निर्वाचित हुने पदहरूमा एक जना महिलासहित सामाजिक समूहहरूको समावेशी हुनुपर्ने उल्लेख छ ।
विधानमा प्रस्ताव गरिए अनुसार अध्यक्षसहित बढीमा ९ सदस्यीय केन्द्रीय सचिवालय र महासचिवसहित ५ सदस्यीय केन्द्रीय कार्यालय समिति गठन गरिने छ ।
जसपाले केन्द्रीय समितिमा निर्वाचित हुने सदस्यका लागि ३० प्रतिशत खुला र ७० प्रतिशत समानुपातिक विधि अवलम्बन गर्ने प्रस्ताव गरेको छ ।
केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाई महिला सहभागिता सुनिश्चितता, ४० प्रतिशत युवा सहभागिता हुने गरी विधानमा प्रस्ताव गरिएको छ ।
जसपाले ७० वर्षे उमेर हदको प्रावधान राख्ने भएको छ । प्रस्तावित विधानमा ७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन नपाउने उल्लेख छ ।
निर्वाचित केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिहरूले आफ्नो समितिका निर्वाचित सदस्यहरूको कूल संख्याको १५ प्रतिशत भन्दा बढी नहुने गरी अध्यक्षको प्रस्तावमा समितिले मनोनयन गर्न सक्ने प्रस्ताव गरिएको छ ।
पाँच जना केन्द्रीय सदस्य निष्कासित
गएको निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको भन्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पाँच जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ ।
जसपाको शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरु देउकुमार नेम्बाङ, दीपेन्द्र नेम्बाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गरेको हो ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारी अनुसार निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको ठहर गर्दै उनीहरुलाई कारबाहीको लागि छानबिन समितिले सिफारिस गरेको थियो । जसपा कार्यकारिणी सदस्य शिवलाल थापामगरको संयोजकत्वमा निर्वाचनमा अन्तरघात भएको विषयमा छानबिन गर्न समिति गठन भएको थियो ।
कारबाहीको निर्णय चित्त नबुझे उनीहरुले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्ने बस्नेतको भनाइ छ ।

