adv

दमकको बजेट १ अर्ब ८४ करोड

कृषि, सञ्चार र शहरी विकास परे उपेक्षामा

कमन देवान
१० असार, दमक ।


दमक नगरपलिकले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ८४ करोड १२ लाख ३९ हजार बजेट प्रस्ताव गरेको छ ।

आज आइतबार आयोजित दमक नगरपालिकाको १३ औँ नगरसभामा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले आगामी आ.व.२०८०/०८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।

आउँदो आ व मा १० वडा रहेका दमक नगरपालिकामा प्रतिवडा १२ करोड वडा सिलिङ बजेट प्रस्ताव गरिएको छ ।

विषयगत शाखाहरुमा सात करोड एक लाख रकम विनियोजनका लागि प्रस्ताव गरिएको छ भने नगरस्तरीय गौरवका योजनाहरु (पूर्वाधार विकास कार्यक्रम) का लागि आठ करोड ८० लाख प्रस्ताव गरिएको छ ।

त्यस्तै समपूरक कोषका दुई करोड ४० लाख विनियोजनका लागि प्रस्ताव गरिएको बजेटमा विपत व्यवस्थापन शीर्षकमा ८० लाख, तार जाली खरिदमा २० लाख प्रस्ताव गरिएको छ ।

विषयगत शाखाहरुतर्फ आगामी बजेटमा शिक्षामा २ करोड ४० लाख, सामाजिक विकासतर्फ १ करोड ३२ लाख बजेट प्रस्ताव गरेको छ ।

स्वास्थ्यमा ४० लाख बजेट विनियोजनको लागि प्रस्ताव गरिएको छ भने महिला बालिबालिकातर्फ ३२ लाख, सुशासन राजश्व र रोजगार विकासमा २३ लाख, न्यायिक तथा विधायन शाखातर्फ १६ लाख, पशु विकासमा १२ लाख प्रस्ताव गरिएको छ ।

दमक नगरपालिकालाई ‘कृषिमा आधारित हरित नगर’ नारा दिइए पनि कृषि शीर्षकमा भने ३० लाख मात्रै विनियोजन गरिएको छ । सूचना सञ्चार न्यून बजेट अर्थात आठ लाख विनियोजन प्रस्ताव गरेको दमक नगरपालिकाले वातावरण र सहकारीतर्फ पनि समान आठ लाख विनियोजन प्रस्ताव गरेको छ ।

सबै भन्दा कम्ती बजेट शहरी विकास र खाद्यमा चार लाखका दरले बजेट प्रस्ताव गरिएको छ ।

नगर प्रमुख र उपप्रमुखले बिना निर्णय ४०–४० लाख खर्च गर्न पाउने

दमक नगरपालिकाको १३ औँ नगर सभाले नगर प्रमुख र उपप्रमुखले जनही ४०-४० लाख  नगर कार्यपालिकाको निर्णय बिना नै खर्च गर्न पाउने गरि प्रस्ताव गरिएको छ ।

प्रस्तुत नीति तथा बजेटमा भनिएको छ –‘नगर प्रमुख र उपप्रमुख कार्यक्रमको शीर्षक बाहेक एकमुष्ट विनियोजन भएको रकम नगर कार्यपालिकाको निर्णयबाट मात्र खर्च गरिने छ ।’

यो भाष्यले अन्य सबै बजेट र योजना बारे नगर कार्यपालिका बैठकले निर्णय गर्नुपर्ने जनाउँछ भने प्रमुख र उपप्रमुखले गर्ने खर्च कहिँकतै अनुमोदन गर्न नपर्ने जनाउँछ ।

नगर कार्यपालिकाका एक जना सदस्यले यसरी निर्णय गर्न नपर्नेगरि खर्च गर्न पाउने सुबिधा गलत भए पनि बिगतका वर्षहरुबाटै सो शीर्षकमा खर्च हुनेगरेको बताएका छन् ।

असार ३ गते आगामी बजेट बारे दमक नगरपालिकाले सञ्चारकर्मीहरुसँग गरेको अन्तरक्रियामा उपप्रमुख भट्टराईले कतिपय योजनाहरुमा नसमेटिएका क्षेत्रमा आवश्यक खर्च गर्नेगरी नगर प्रमुख र उपप्रमुख विशेष कोषमा निश्चित रकम राखिने जानकारी दिएकी थिइन् ।

सो विषयमा सञ्चारकर्मीहरुले वित्तीय अनुशासनले यसो गर्न ठीक हुँदैन भनेको बताउँदै सुझाव समेत दिएका थिए ।

दमक नगरपालिकाले अघिल्लो आ.व. मा समेत नगर प्रमुख र उपप्रमुखले खर्च गर्न पाउनेगरी ५० लाखका दरले नगर प्रमुख र उपप्रमुख कोषमा रकम बिनियोजन गरेको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु